प्रकाश भट्ट, कञ्चनपुर – सडकका पेटीमा अलपत्र रहेका चोट पटक लागेका बिरामी पशु चौपायाहरूको महेन्द्रनगरमा स्थानीय युवाहरूको समूह ‘आई केयर यु’ ले निःशुल्क औषधि उपचार सेवा गरिरहेको छ ।
सडकमा गुडिरहेका सवारी साधनले ठक्कर दिएर घाइते भएका, मानिसहरूले लठ्ठी, ढुङ्गा प्रहार गरेका तथा अन्य रोगबाट ग्रसित पशु चौपायाहरूलाई सो समूहले उनीहरूको उपचार गरी निको पार्दै आएको छ ।
विगत १३ वर्ष देखी संस्थाले निरन्तर पशु चौपायाहरूको उपचार गरी निको पार्दै पाएको समुहका संस्थापक मन्जु शाहीले बताउनुभयो।
अहिले उक्त समुहमा मन्जु शाही, विष्णु पनेरु, सुरज कुवर, सरिता रावल, रबिन उपाध्याय लगायतका युवाहरू निरन्तर पशु चौपायाहरूको उपचार गर्ने कार्यमा खटिने गरेका छन् ।
समुहले वर्षभरी कपडा जम्मा गरेर प्रत्येक साल दसैँ र तिहारको बेला गरिबहरूलाई बाँड्ने गरेको समेत शाहीले बताउनुभयो।
जन्मदिन, विवाह, आदिमा दान स्वरूप मिलेको सहयोगबाट आर्थिक खर्च धानेको र स्थानीय सरकारबाट कुनैपनि सहयोग नमिलेको उनले बताउनुभयो।
उनले भनिन ‘जन्मदिन, विवाह आदीबाट स्वरूप मिलेको सहयोगबाट हामीहरूले आर्थिक खर्च धानेका छौँ, हामीलाई स्थानीय सरकारबाट कुनैपनि सहयोग मिलेको छैन्।’
बेसहाराको सहारा बन्न पाएकोमा आफू निकै खुशी भएको तथा सदैव समाज सेवा गरिरहने उनले बताउनुभयो।
सडकमा सास्ती खेपिरहेका पशु चौपाया र अन्य जनावरको औषधोपचार तथा संरक्षणका लागि ‘आई केयर यु’ समूहलाई विभिन्न व्यक्तिहरूले देश तथा विदेशबाट समेत आर्थिक सहयोग गर्दै आएको समेत उहाँले बताउनुभयो।