रुस र युक्रेनबीच युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भयो। रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेको थियो। त्यसपछि सैनिकसहित हजारौं मानिसको मृत्यु भइसकेको छ ।
युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिपूर्ण समाधानको कुरा गरेका छन् । भ्लादिमिर पुटिनले मस्कोले अझै पनि युक्रेनसँग शान्तिपूर्ण समाधानको आशा गरेको बताए ।
मंगलबार संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा पुटिनले गत महिना टर्कीको इस्तानबुलमा रुसी र युक्रेनी अधिकारीबीच भएको वार्ता केही सकारात्मक भएको बताए।
उनले युक्रेनी अधिकारीहरूले क्रिमिया र पूर्वी युक्रेनको पृथकतावादी क्षेत्रहरूको स्थितिमा आफ्नो अडान परिवर्तन गरेको र यी विषयहरू दुवै देशका राष्ट्रपतिहरूलाई छलफल गर्न छोडिएको बताए। भ्लादिमिर पुटिनले युक्रेनको अडान परिवर्तनले भविष्यमा हुने कुनै पनि सम्झौतालाई कठिन बनाउने बताएका छन्।
मंगलबार पुटिनले युक्रेनसँग शान्तिपूर्ण समाधानको आशा व्यक्त गरे पनि अर्कोतर्फ भने रुसले पूर्वी युक्रेनमा आक्रमण गरेको थियो । आक्रमणमा पूर्वी र दक्षिणी युक्रेनका सहरहरूमा रुसी आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post