काठमाडौँ उपत्यकामा बिहानै हल्का वर्षा भएको छ । काठमाडौँ र ललितपुर आसपासका क्षेत्रमा बुधबार बिहानैदेखि वर्षा भएको हो ।
भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेका कारण मौसम बदली भएको जल तथा मौसम विभागले जनाएको छ । दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा बदलीको सम्भावना छ । आगामी केही दिन देशभर मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
मौसम किन धुम्म छ ?
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, वायु प्रदूषण तथा अन्य मानवीय गतिविधिका कारण नेपालको विभिन्न स्थानमा अहिले मौसम धूमिल बनेको विज्ञहरूले बताएका छन् ।
ठूलो वा मध्यम वर्षा नभएसम्म मौसम धुम्म रहने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘हल्का वर्षाले प्रदूषण घटाउँदैन । प्रदूषण जम्मा भएको छ, तापक्रम बढ्दो छ, राम्रो हावा चलेको छैन र ठूलो वर्षा भएको छैन,’ उनले भनिन्, ‘त्यसैले उपत्यकाजस्ता ठाउँहरूमा मौसम धुम्म हुने क्रम निरन्तर केही दिन चल्छ ।’
वायु प्रदूषणका कारण मौसम बिग्रिएको उनको भनाई छ । ‘सुक्खा मौसममा सबैतिरबाट धुलो वायुमण्डलमा जम्मा हुन्छ । यस समयमा लाग्ने डढेलो, सवारी साधनबाट निस्कने लगायत औद्योगिक धुवाँ पनि त्यहीँ मिसिन्छ र आकाश धुम्म हुन्छ,’ उनले भनिन् ।
भारतको राजस्थान, मध्य प्रदेश र गुजरातलगायत स्थानहरूलाई केन्द्र बनाएर, वायुमण्डलको पाँच किलोमिटरभन्दा माथि उच्चचापीय प्रणाली देखिएको हो । मौसमविद् मानन्धर भन्छिन्, ‘यो प्रणाली पनि आकाश धुम्मिनुको कारण हुनसक्छ। यो विशेषगरी तापक्रम उच्च हुँदा र सुक्खा समयमा देखिने समस्या हो ।’ मकालु खबर बाट सभार









Discussion about this post