काठमाडौं — बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा आज बिहीबारदेखि देखिने भएको छ। मौसमविद्का अनुसार आज दिउँसोदेखि वर्षा सुरु हुने र शुक्रबार देशका धेरैजसो स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ। यसको प्रभावले नेपालमा बादल प्रवेश गरिसकेको भए पनि वर्षा भने सुरु भइसकेको छैन। आज दिउँसोदेखि वर्षा सुरु हुने र भोलि भारी वर्षाको सम्भावना बढी रहेको उनले बताएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत आज रातिदेखि शनिबार बिहानसम्मको अवधिमा विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन्। उनका अनुसार पछिल्लो पूर्वानुमानमा अघिल्लो दिनको तुलनामा कम जिल्ला जोखिमको सूचीमा देखिए पनि यस प्रणालीले ठूलो क्षेत्र ओगटेकाले विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना कायम छ।

माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखासँग यस प्रणालीको अन्तरक्रिया भइरहेकाले वर्षाको प्रभाव अझ बढ्न सक्ने मौसमविद्को आकलन छ।
वर्षा हुने स्थान, समय र परिमाणमा परिवर्तन हुन सक्ने भएकाले मौसमसम्बन्धी पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै, आधिकारिक सूचना मात्रै विश्वास गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।










Discussion about this post