वीरगञ्ज । मधेशको राजनीतिक नेतृत्व अब नयाँ युवा पुस्ताले लिनुपर्नेमा वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। पुराना मधेशी दल तथा नेताहरूको कार्यसम्पादनको समीक्षा जनताले पछिल्लो निर्वाचनबाटै गरिसकेको उल्लेख गर्दै अब नयाँ सोच र कार्ययोजनासहित अघि बढ्नुपर्ने उनीहरूको धारणा थियो।
सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले ‘मधेशः अबको बाटो–मधेशी राजनीतिको समीक्षा’ विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम वीरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको हो। प्रतिष्ठानको दशौँ शृङ्खलाका रूपमा आयोजित कार्यक्रम सहिद सोहन साह कलवारकी पत्नी विनीता देवीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा अधिवक्ता आनन्द गुप्ताले विषय प्रवेश गराउँदै जेनजी आन्दोलनपछि मधेशी दल तथा नेताहरूको विश्वसनीयतामा कमी आएको बताए। मधेशका मूल मुद्दाहरू अझै सम्बोधन हुन नसकेको भन्दै उनले ती मुद्दा पूरा गराउन राज्यलाई दबाब दिने प्रभावकारी रणनीति आवश्यक रहेको बताए।
वक्ताहरूले पुरानै राजनीतिक शैली र नेतृत्वबाट मधेशका समस्या समाधान हुन नसक्ने धारणा राख्दै युवा पुस्ताले नेतृत्व लिएर पहिचान, अधिकार र सामाजिक मुद्दालाई सम्बोधन गर्ने स्पष्ट कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्वसांसद प्रह्लाद गिरी र बिक्की यादव, अर्थशास्त्री प्राध्यापक इन्दुशेखर मिश्र, प्रा. डा. हरेराम ठाकुर, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वप्रमुखद्वय ए.के. झा र डा. उमेश चौरसियालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले धारणा राखेका थिए।
त्यसैगरी नेतृ रम्भा मिश्रा, मोनिका सिंह, निजामुद्दिन समानी, सलमा खातुन, पूर्व प्रहरी महानिरीक्षक हरिबाबु चौधरी, पत्रकार पवन तिवारी, डा. आमिर आलमलगायत तीन दर्जनभन्दा बढी युवा, बुद्धिजीवी तथा विभिन्न पेशाकर्मीको सहभागिता रहेको थियो।
वक्ताहरूले मधेश आन्दोलनका सहिदहरूको त्याग र बलिदानलाई उचित सम्मान दिँदै उनीहरूले देखेका सपना र अधिकार प्राप्तिको अभियानलाई व्यवहारमा उतार्नुपर्ने बताए। साथै मधेशले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै वर्तमान चुनौती र सम्भावनाका आधारमा नयाँ राजनीतिक कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए।
प्रतिष्ठानका संरक्षक सञ्जय यादवले कार्यक्रमले मधेशको राजनीतिक यात्राको समीक्षा गर्नुका साथै सहिदहरूको योगदान र बलिदानको इतिहास नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए।










Discussion about this post