सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशै हल्लाउने एउटा शंका, आधार भेटिएन

ओखलढुंगा/विराटनगर : सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका। उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो। कारण हो गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले रातभर कब्जा लिएको ‘सनसनीपूर्ण समाचार’।

विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न आएको सूचनापछि त्यहाँ कार्यरत प्रहरी सुरक्षित स्थानमा भागेको, विप्लवका कार्यकर्ताले चौकी पाँच घन्टा नियन्त्रणमा लिएको जस्ता समाचार आइरहे। घटनाको पुष्टि न प्रहरीले गर्‍यो न स्थानीयले।

सनसनीपूर्ण खबरपछि गृह मन्त्रालयमा सुरक्षा निकायका तीनवटै प्रमुखसहित मन्त्रीको बैठक बस्यो। बैठकले त्यस क्षेत्रमा सुरक्षा निकाय सचेततापूर्वक परिचालन गर्ने निर्णय गर्‍यो।

स्थानीय बासिन्दाका अनुसार त्यहाँ न विप्लवका नेताकार्यकर्ताले धावा बोलेका थिए, न कब्जा गर्ने उद्देश्यले नै पुगेका थिए। त्यहाँ विप्लवका नेताकार्यकर्ता भने देखिएका थिए। गाउँपालिकाका अध्यक्ष सागर किरातीले चौकीमा आक्रमणबारे आफूलाई जानकारी नभएको टेलिफोनमार्फत अन्नपूर्णलाई बताए। उनले केही दिनदेखि गाउँमा बाहिरबाट आएका व्यक्तिको बाक्लो उपस्थिति भने स्वीकारे। ‘गाउँपालिकाको ५ नम्बर वडाको नुर्कुम र अन्य केही ठाउँमा विप्लवका कार्यकर्ताको आउजाउ गरिरहेको रिपोर्ट आएको हो,’ अध्यक्ष किरातीले भने, ‘नेपाल प्रहरी र सशस्त्रको गस्ती परिचालन भएको छ। तर यहाँ अहिलेसम्म कुनै घटना भएको छैन।’

Mahakali Polytechnic

स्थानीयका अनुसार उक्त क्षेत्रमा विप्लवका नेताकार्यकर्ताको भने केही समययता चहलपहल बढेको थियो। नयाँ अनुहार भएका मान्छेको चहलपहल बढेपछि प्रहरी चौकीका सीमित प्रहरीलाई आफैंमाथि आक्रमणका लागि संगठित भएर आएको सुराक पुगेको थियो।

World Link Ads

छेस्काममा सातजना प्रहरी रहे पनि आइतबार असईको कमान्डमा चार जना मात्रै थिए। उनीहरुले आक्रमण गर्ने संकेत पाएपछि प्रहरी चौकी छोडेर आफैं सुरक्षित बसेका मात्र हुन्। विप्लवका नेताकार्यकर्ताको बाक्लो उपस्थितिले त्यहाँ हुन सक्ने सम्भावित घटना नियन्त्रण गर्ने र उनीहरूका गतिविधि अध्ययन गर्ने उद्देश्यले अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।

Sana Kishan

छेस्काम र आसपासका क्षेत्रलाई लक्षित गर्दै संयुक्त रूपमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘लङ पेट्रोलिङ’ टोली परिचालन गरिसकिएको सुरक्षा स्रोतले जनाएको छ। टोलीलाई सबै ठाउँमा खानतलासी गर्ने, संग्दिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने लगायतका अधिकार दिइएको छ। थप मद्दतका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत १ नम्बर सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट डीएसपीको नेतृत्वमा ५० र केन्द्रीय प्रहरी विशेष कार्यदलबाट ३० गरेर ८० जना प्रहरीको विशेष टोली सोलुखुम्बु पुर्‍याइएको छ। बाहिरबाट लगिएको र जिल्लाभित्रकै सुरक्षा टोलीले विभिन्न ठाउँमा सर्च अभियान सुरु गरेर विप्लव समूहका कार्यकर्ताको खोजी तीव्र पारेको जनाइएको छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र मगरले बाहिर हल्ला आएजस्तो केही नभएको दाबी गरे। उनले विप्लवको गतिविधि बढेकाले सुरक्षा परिचालन गरिएको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘बाहिर धेरै हल्ला भएको छ, त्यस्तो केही होइन। सुरक्षा सतर्कता अपनाइएको छ, प्रहरी परिचालनचाहिँ भएको हो।’

स्थानीयले राति दुईवटा समूहको गतिविधि देखिएको र तीमध्ये एक समूह संखुवासभातर्फ लागेको र एक समूह सोलुखुम्बुतर्फ लागेको बताएका छन्। छेस्काम अति विकट र संखुवासभा सिमानामा पर्ने गाउँ हो।

विप्लवका प्रवक्ता खडकबहादुर विश्वकर्माले सोलखुम्बुमा पार्टीद्वारा प्रहरी चौकी आक्रमण भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारको खण्डन गरेको छन्। उनले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टी नीति नभएको र त्यस प्रकारको घटना नभएको पनि वक्तव्यमार्फत प्रस्ट पारेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले विप्लवका कार्यकर्ताले सोलुखुम्बुको चौकी कब्जा गरेको र आक्रमण प्रयास गरेको कुनै जानकारी नभएको बताए। ‘त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ,’ उनले भने, ‘प्रहरी कतै गस्तीमा निस्किएका बेला कोही नयाँ मान्छे चौकी छेउछाउ हिँडेका कारण ‘विप्लव’ कै कार्यकर्ता हुन् कि भनेर स्थानीयले आशंका व्यक्त गरेका हुन सक्छन्।’ गाउँपालिकाको गुँदेलमा विप्लवले तालिम केन्द्र नै चलाएको चर्चा सुरक्षा निकायमा छ। त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पैदल र हेलिकोप्टरबाट निगरानी गरिरहेको एक सुरक्षा अधिकारीले बताए। छेस्काम, गुँदेल, बुँगलगायतका क्षेत्रमा सुरक्षा निकायाले हवाई गस्ती गरिरहेको छ।

ओखलढुंगामा उच्च सतर्कता

शनिबार राति विप्लवका हतियारधारी समूह गाउँ पसेको हल्ला आएपछि २ बजेबाटै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले प्रहरीलाई गस्तीमा खटायो। सोलुखुम्बु सिमानामा रहेको चिसंखुगढी गाउँपालिकाका भूभागमा विप्लवको समूह आवतजावत गरेको हुन सक्ने अनुमानमा प्रहरी खटाइएको थियो।

सोलुखुम्बुसँग सिमाना जोडिएका क्षेत्रमा ओखलढुंगाबाट सुरक्षाकर्मी खटाइएको छ। छिमेकी जिल्लाको प्रभाव र केही सूचनाका आधारमा जिल्लामा सुरक्षा सतर्कता उच्च अपनाइएको ओखलढुंगाका डिएस्पी पुष्पराज मल्लले बताए। उनले भने, ‘हामी सतर्क र तयारी छौं, थप बताउन मिल्दैन। प्रहरीले सूक्ष्म ढंगले निगरानी गरिरहेको छ।’ शनिबार राति विप्लव गाउँ पसेको हल्ला आएपछि जिल्ला प्रहरी कार्यालयले ओखलढुंगाका पूर्वी भागमा समेत प्रहरी परिचालन गरेको छ।

सुरक्षा निकायले सोलुको घटनालाई आधिकारिक पुष्टि नगरे पनि विप्लवको गतिविधि बढेकाले प्रहरी परिचालन गरिएको स्वीकार गरेका छन्। यसले सर्वसाधारण र सुरक्षा निकायमा समेत चिन्ता र असुरक्षा बढेको छ।

प्रहरी जनशक्ति कम भएको एवं हतियार पनि पर्याप्त नभएकै कारण त्यहाँ कार्यरत प्रहरीले सुरक्षित हुन र आक्रमणबाट बच्न चौकी छाडेको स्रोतले बतायो। सुरक्षा स्रोतका अनुसार चौकी छाडेका प्रहरीले गाउँ नजिकैको अग्ला रूखमा चढेर रात बिताएका थिए।

महाकुलुङ क्षेत्रमा ३ दिनदेखि विद्युत् अवरुद्ध छ। बिजुली नभएका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अवरुद्ध भएको मौका छोपेर चौकीमा आक्रमण प्रयास गरिएको प्रहरीको अनुमान छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.