काठमाण्डौ – भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सडक सम्पर्क पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गर्ने निर्णय भएको छ ।
केन्द्रीय मनसुन प्रतिकार्य कमान्ड पोस्टमा बसेको बैठकमा भदौ १० गतेको भोटेकोशी बाढी तथा असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण भएको बाढी, पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरुद्ध सडक पुनर्स्थापनाबारे समीक्षा गरिएको हो ।
बैठकले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतलाई प्रभावकारी बनाउने, क्षतिको विवरण अद्यावधिक गर्ने र सडक सम्पर्क पुनर्स्थापनाका कामलाई तीव्रता दिने निर्णय गरेको छ ।
केन्द्रीय मनसुन प्रतिकार्य कमान्ड पोस्टका संयोजक डा. धर्मराज उप्रेतीसहितको टोलीले रसुवा, नुवाकोट र धादिङका जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टसँग आवश्यक समन्वय गर्ने भएको छ ।
बैठकमा अस्थायी आवासका लाभग्राही पहिचान, सम्पर्कविहीन व्यक्तिको विवरण रुजु तथा प्रमाणीकरण गरी मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो ।
प्रभावित परिवारलाई राहत तथा अस्थायी आवास उपलब्ध गराउन आवश्यक विवरण यथाशीघ्र अद्यावधिक र प्रमाणीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।










Discussion about this post