कञ्चनपुर – तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् । विगतमा बजार अभावका कारण उत्पादित फूल बारीमै कुहिने समस्या भोग्दै आएका किसानले यस वर्ष तिहारअघि नै फूलको माग आउन थालेपछि राहत महसुस गरेका छन् ।
भीमदत्त नगरपालिका–१ की सिर्जना जोशी सात वर्षदेखि पुष्प व्यवसायमा संलग्न हुनुहुन्छ । विगतमा फूल बिक्री नहुँदा ठूलो घाटा बेहोर्नुपरे पनि पछिल्ला वर्षमा बजार सुधार हुँदै गएपछि उहाँले फूलखेती विस्तार गर्नुभएको छ ।
जोशीका अनुसार गत वर्ष फूलले राम्रो बजार पाएपछि यस वर्ष खेती बढाइएको हो । उहाँले हाल १५ कट्ठा जग्गामा फूलखेती गर्दै आउनुभएको छ । यस वर्ष तिहारअघि नै २० किलो फूलको अग्रिम बुकिङ भइसकेको उहाँले बताउनुभयो ।
विगतमा उत्पादन भएको फूल बिक्री नहुँदा बारीमै कुहिने र बिक्रीका लागि काठमाडौँ पठाउँदा बाटोमै नष्ट हुने समस्या भोग्नुपरेको उहाँको अनुभव छ । गत वर्ष भने खर्च कटाएर करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो ।

यस वर्ष फूलको माग बढेकाले तिहारमा चार क्विन्टल फूल बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । प्रतिकिलो पाँच सय रुपैयाँका दरले फूल बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, भीमदत्त नगरपालिका–१५ की मेघा रावल पनि पुष्प व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँले आफ्नै चार कट्ठा जग्गामा दुई हजार चार सय बोट फूल लगाउनुभएको छ । फूलखेतीमा २५ हजार रुपैयाँ लागत लागेको र तिहारमा फूल बिक्रीबाट एक लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरेको उहाँले बताउनुभयो ।
स्थानीयस्तरमा उत्पादित फूलको माग बढ्दै गए आगामी वर्ष खेती विस्तार गर्ने योजना रहेको रावलको भनाइ छ ।
तिहारमा सयपत्री फूलको माला, पूजाआजा तथा घर सजावटमा व्यापक प्रयोग हुने भएकाले यसको माग बढ्ने गरेको छ । विवाह, सांस्कृतिक कार्यक्रम तथा अन्य चाडपर्वमा समेत फूलको प्रयोग बढ्दै जाँदा स्थानीय पुष्प व्यवसायीले बजार विस्तारको सम्भावना देखेका छन् ।
स्थानीय किसानले तिहारलगायत चाडपर्व तथा विभिन्न कार्यक्रममा स्वदेशमै उत्पादित फूल प्रयोग गर्न आग्रह गरेका छन् । बजार सुनिश्चित हुन सके फूलखेतीबाट परम्परागत खेतीभन्दा बढी आम्दानी गर्न सकिने उनीहरूको अपेक्षा छ ।










Discussion about this post