रसुवा । लेन्दे खोलाबाट आएको बाढीका कारण रसुवामा १६३ जना विद्यार्थी र १७ जना शिक्षक अझै सम्पर्कविहीन रहेका छन् । बाढीले विद्यालय, बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याउँदा बालबालिकाको पढाइसमेत प्रभावित भएको छ ।
जिल्ला शिक्षा समन्वय इकाइका सूचना अधिकारी जीवन दाहालका अनुसार सबैभन्दा बढी उत्तरगया गाउँपालिकामा ९७ जना र गोसाइँकुण्ड गाउँपालिकामा ६५ जना विद्यार्थी सम्पर्कविहीन छन् । त्यस्तै, कालिका गाउँपालिकाको सुन्धारा माध्यमिक विद्यालयका एक जना विद्यार्थी पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।
गोसाइँकुण्ड गाउँपालिकामा सात जना र उत्तरगया गाउँपालिकामा १० जना शिक्षक सम्पर्कविहीन रहेका छन् । बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको अवस्था पनि चिन्ताजनक रहेको छ । एक जना अभिभावक बेपत्ता भएका २६८ जना र दुवै अभिभावक बेपत्ता भएका ६२ जना बालबालिका रहेको जिल्ला शिक्षा समन्वय इकाइले जनाएको छ ।
बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टिमुरेको भवनमा पूर्ण क्षति पुर्याएको छ । विद्यालयका विद्यार्थी तथा शिक्षकसमेत सम्पर्कविहीन हुँदा पठनपाठन प्रभावित भएको छ । अन्य केही विद्यालयमा भने वैकल्पिक व्यवस्था गरी पढाइ सुरु गरिएको छ ।
उत्तरगया गाउँपालिकामा मोर्डन ट्रिनिटी इङ्लिस स्कुल बगेपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई नजिकका विद्यालयमा स्थानान्तरण गरी पठनपाठन अघि बढाइएको छ । बाढी प्रभावित बालबालिकामध्ये केहीले अझै आधारभूत राहतसमेत प्राप्त गर्न नसकेको भन्दै आवश्यकताको पहिचान गरी सहयोग उपलब्ध गराउनुपर्ने सूचना अधिकारी दाहालले बताउनुभयो ।
बाढीले टिमुरे गाउँबस्ती, विद्यालय, वडा कार्यालय तथा पुलहरूमा समेत ठूलो क्षति पुर्याएको छ । जिल्लामा पक्की, झोलुङ्गे, आर्च र बेलिब्रिज गरी २५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनासँगै सम्पर्कविहीन विद्यार्थी र शिक्षकको खोजी, बालबालिकाको संरक्षण र पठनपाठनलाई निरन्तरता दिनु अहिले प्रमुख चुनौती बनेको छ ।










Discussion about this post