काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीबाट भएको क्षति सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय हानि तथा नोक्सानी कोषको सञ्चालक समितिको आकस्मिक बैठक कात्तिक ५ गते बस्ने भएको छ।
नेपाल सरकारले बाढीलाई जलवायुजन्य विपद् भन्दै आपत्कालीन आर्थिक सहायता माग गरेपछि कोषले २६ सदस्यीय बोर्डको विशेष भर्चुअल बैठक बोलाएको हो।
जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीका अनुसार बैठकले नेपाललाई करिब २ करोड अमेरिकी डलर अर्थात् २ अर्ब ७० करोडदेखि ३ अर्ब रुपैयाँसम्म सहायता उपलब्ध गराउने निर्णय गर्न सक्ने सम्भावना छ।
बैठकले तत्काल सहायता उपलब्ध गराउने, खर्चको कार्ययोजना माग गर्ने वा आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकबाट अन्तिम निर्णय गर्ने विकल्पमा छलफल गर्न सक्ने जनाइएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले मानवीय क्षतिका साथै जलविद्युत् आयोजना, सडक र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। प्रस्तावित सहायता स्वीकृत भए पनि रकम प्राप्त हुने समय भने कोषको निर्णय र कार्यान्वयन प्रक्रियामा निर्भर रहनेछ।










Discussion about this post