कैलाली । पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरण तथा असल अभ्यासहरूको आदान–प्रदान सम्बन्धी एक दिने प्रदेश स्तरीय संवाद कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), मर्सिकोर नेपाल र द कोका-कोला फाउण्डेशनद्वारा सञ्चालित “नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण (सान) परियोजनाको सहकार्यमा उक्त संवाद कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रम अन्तर्गत आयोजित प्यानल छलफलमा प्रदेश सरकार, स्थानीय सरकार, जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया, जिल्ला विपद् व्यवस्थापन समिति, तथा सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उक्त प्यानल छलफलका क्रममा सहभागी विज्ञ तथा सरोकारवालाहरूबीच पूर्वकार्यका क्षेत्रमा देखिएका विद्यमान नीतिगत तथा व्यवहारिक कमिकमजोरी र तिनलाई समाधान गर्ने उपायहरूबारे गहन छलफल भएको थियो। छलफलमा पूर्वकार्यलाई कसरी तल्लो तहसम्म पुर्यानउने र अन्तर सरकारी निकायहरूबीच कसरी प्रभावकारी समन्वय कायम गर्ने भन्ने विषयमा व्यापक बहस गरिएको थियो। संवाद कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको यस प्यानल छलफलको सहजीकरण न्यूज २४ का प्रस्तोता बिरेन्द्र जैरूले गर्नुभएको थियो।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचालाई प्रदेश तथा स्थानीय तहमा कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुका साथै अनुभवहरू आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले सरकारी निकाय, स्थानीय सरकार, संघ-संस्था तथा विकास साझेदारहरूबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै सुदूरपश्चिम प्रदेशमा पूर्वकार्यका प्राथमिकता र आवश्यक सिफारिसहरू पहिचान गर्नु कार्यक्रमको मुख्य ध्येय रहेको स्पष्ट पार्नुभयो।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुदूरपश्चिम प्रदेश सचिव तेज प्रसाद जोशीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्य कुनै एक व्यक्ति वा निकायले मात्र गर्न नसक्ने भएकाले यसलाई सबै तहबाट साझा कर्तव्य र दायित्वका रूपमा लिनुपर्ने बताउनुभयो। प्रदेश सरकारले यसका लागि एक्सन प्लान पारित गरिसकेको जानकारी दिँदै उहाँले यो संवाद विपद् व्यवस्थापन जस्तो संवेदनशील कार्यका लागि फलदायी रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का उपसचिव राजेन्द्र शर्माले पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचामा संघ, प्रदेश, स्थानीय तह र समुदाय स्तरले गर्नुपर्ने भूमिका स्पष्ट रूपमा कोरिएको बताउनुभयो। यस संवादले सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय कार्यढाँचालाई लागु गर्न साथै सरोकारवाला निकायहरूलाई आ-आफ्नो जिम्मेवारी बोध गराउँदै समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुर्याोउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका प्रमुख ई. संजय कुमार साहले विपद् व्यवस्थापनका तीन चरण पूर्वानुमान, पूर्वकार्य र प्रतिकार्य मध्ये पूर्वकार्यलाई विशेष जोड दिनुपर्ने बताउनुभयो। कार्यक्रम अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै उहाँले सुदूरपश्चिम प्रदेशलाई पूर्वानुमानमा आधारित पूर्वकार्यमा देशकै अग्रढी प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै मर्सिकोर नेपालका सिनियर प्रोग्राम कोर्डिनेटर सरोज ठाकुरले यस संवादले आगामी दिनमा विपद् पूर्वकार्यलाई प्रवर्द्धन गर्नुका साथै संघ, प्रदेश, स्थानीय तह र समुदाय स्तरबीचको समन्वयलाई प्रभावकारी बनाई समग्र विपद् व्यवस्थापनमा महत्त्वपूर्ण टेवा पुर्यालउने विश्वास व्यक्त गर्नुभयो।
नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान) परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले यस संवादले देखिएका चुनौतीहरूलाई सम्बोधन गर्दै आगामी दिनमा पूर्वकार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन स्पष्ट मार्गदर्शन गर्ने धारणा राख्नुभयो।
संवाद कार्यक्रमको अन्त्यमा सहभागीहरूले ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र समेत जारी गरेका छन्। उक्त प्रतिबद्धता पत्रमा राष्ट्रिय कार्यढाँचालाई प्रदेश तथा स्थानीय तहका नीति, योजना, बजेट र कार्यक्रममा समावेश गर्ने, पूर्व सूचना प्रणाली तथा निर्णय सहयोग प्रणालीलाई सुदृढ बनाउने र महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा संवेदनशील समूहको सहभागितालाई प्राथमिकता दिने उल्लेख छ। साथै जलवायु परिवर्तन अनुकूलनका तथ्याङ्क तथा असल अभ्यासको आदान-प्रदान गर्ने, संस्थागत क्षमता तथा वित्तीय लगानी अभिवृद्धि गर्ने, प्रकृतिमा आधारित समाधानलाई प्रवर्द्धन गर्ने, सुदूरपश्चिमलाई पूर्वकार्यमा अग्रणी प्रदेशका रूपमा विकास गर्ने र समुदाय स्तरका विपद् व्यवस्थापन समिति तथा स्वयंसेवकहरूलाई सक्रिय गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा प्रदेश सचिव तेज प्रसाद जोशी, पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मा, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, पुनर्वासका उप-प्रमुख भुलिया कुमारी राना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का उपसचिव राजेन्द्र शर्मा, जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका प्रमुख इ. संजय कुमार साह, जिल्ला प्रशासन कार्यालयका विपद् सम्पर्क व्यक्ति राम मुर्ति सिंह, पुनर्वास, लालझाडी, चुरे र भजनीका विपद् सम्पर्क व्यक्तिहरू, सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरू पार्वती बिक, भोज खेडाल, र सिताराम खड्का साथै मर्सिकोर नेपाल तथा एनएनएसडब्ल्यूएका कर्मचारी तथा प्रतिनिधि लगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।











Discussion about this post