कञ्चनपुर । कञ्चनपुरका एक युवाले छोरीको जन्मदिन सामाजिक सेवासँग जोड्दै उदाहरणीय कार्य गरेका छन्। वेदकोट नगरपालिका–७ सुडास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा कार्यरत टेकबहादुर चन्दले आफ्नी छोरी माल्भिका चन्दको आठौँ जन्मदिन महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा मनाएका छन्।

जन्मदिनको अवसरमा उनले अनाथालयमा आश्रित बालबालिकालाई रात्रिभोज गराएका छन्। पछिल्लो समय जन्मदिन होटल तथा पार्टी प्यालेसमा मनाउने र अनावश्यक खर्च गर्ने प्रवृत्ति बढिरहेका बेला आफूले त्यसको सट्टा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको चन्दले बताएका छन्। यस्ता अवसरलाई समाजसेवासँग जोड्दा वास्तविक खुसी र सन्तुष्टि प्राप्त हुने उनको भनाइ छ।
चन्दले प्रत्येक वर्ष छोरीको जन्मदिनको अवसरमा यस्तै सामाजिक कार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।










Discussion about this post