कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० मा ६ महिनासम्म सञ्चालन भएको व्यावसायिक कटाई-सिलाई तालिम सम्पन्न भएको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर र भीमदत्त नगरपालिका वडा नम्बर १० को संयुक्त सहकार्यमा सञ्चालित ७३० कार्यघण्टाको उक्त तालिम सफलतापूर्वक पूरा गरेका १८ जना महिलालाई एक कार्यक्रमका बीच प्रमाणपत्र र नगद प्रोत्साहन रकम वितरण गरिएको छ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवम् भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बमले ६ महिने कटाई–सिलाई तालिम सफलतापूर्वक सम्पन्न गर्ने वडा नम्बर १० नगरपालिकाकै पहिलो वडा बनेको भन्दै खुसी व्यक्त गरे। यस्ता सीपमूलक र व्यावसायिक तालिमहरूले महिलाहरूको स्वरोजगार, आयआर्जन र उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
वडा अध्यक्ष महेश चन्दले तालिमबाट प्राप्त सीपलाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। सिकेको सीपलाई व्यावसायिक रूप दिँदै आफ्नै खुट्टामा उभिन र आत्मनिर्भर बन्न उनले सहभागी महिलाहरूलाई प्रोत्साहन गर्नुभयो।
तालिम प्रशिक्षक कुशुम भट्टले सुरुवाती चरणमा २५ देखि ३० जना महिला सहभागी भए पनि नियमित रूपमा ६ महिनाको पूरा अवधि (७३० घण्टा) कटाई-सिलाई सिक्ने १८ जनालाई हाजिरीका आधारमा नगद प्रोत्साहन रकम र प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो। यो तालिमबाट सहभागीहरूले व्यावसायिक रूपमा बजारमा प्रतिस्पर्धा गर्न सक्ने सीप हासिल गरेकाले उनीहरूको पारिवारिक आयआर्जन र स्वरोजगारमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। वडा सचिव गगन नाथले सञ्चालन गरेको समापन कार्यक्रममा स्थानीय, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।










Discussion about this post