कञ्चनपुर । कञ्चनपुरको भीमदत्त र वेदकोट नगरपालिकामा क्रियाशील सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूलाई ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ।

बुधबार एनएनएसडब्लुए कञ्चनपुरको सभाकक्षमा उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। विपद्को समयमा दिइने राहत र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई अझ बढी व्यवस्थित, पारदर्शी र परिपक्व बनाउने उद्देश्यका साथ एनएनएसडब्लुए र डीसीए नेपालद्वारा संयुक्त रूपमा सञ्चालित ‘सुदृढ’ परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो।

कार्यशालामा विपद् प्रभावितहरूका लागि व्यवस्थित राहत र पहुँच सुनिश्चितता, एकीकृत प्रणालीको विकास, तथा संकटको समयमा समयमै राहत उपलब्ध गराउने विषयमा सघन छलफल गरिएको थियो। यसका साथै वास्तविक लाभग्राहीको वैज्ञानिक पहिचान गर्ने, सामाजिक सुरक्षा कार्यक्रमलाई विपद्को घडीमा अधिकतम उपयोग गर्ने, देशभर राहत वितरणमा एकरूपता र पारदर्शिता कायम गर्ने, सीमित स्रोत र साधनको अधिकतम एवम् न्यायोचित वितरण गर्ने तथा राहत वितरण प्रक्रियामा उत्तरदायित्व अभिवृद्धि गर्ने जस्ता महत्त्वपूर्ण सैद्धान्तिक र व्यावहारिक विषयमा सुदृढ परियोजनाका पूर्वसूचना तथा पूर्वकार्य अधिकृत भोजराज भट्टले विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले नयाँ मापदण्ड, २०८१ ले विपद् व्यवस्थापन र राहत वितरणलाई स्थानीय तहदेखि नै कसरी जिम्मेवार र त्रुटिरहित बनाउन सहयोग गर्छ भन्नेबारे विस्तृत जानकारी गराउनुभएको थियो।

एनएनएसडब्लुएका निमित्त कार्यकारी प्रमुख विनोद विक्रम जैरुले विपद्को समयमा हचुवाको भरमा भन्दा पनि वैज्ञानिक र कानुनी मापदण्डका आधारमा काम गर्दा वास्तविक पीडितले समयमै न्याय पाउने बताउनुभयो। उहाँले स्थानीय तह र सामुदायिक विपद् व्यवस्थापन समितिहरूले यो मापदण्डलाई आत्मसात् गरेमा सीमित स्रोत साधनबाट पनि प्रभावित क्षेत्रमा अधिकतम र न्यायपूर्ण कार्य गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

सुदृढ परियोजनाकी सामाजिक परिचालिका अनिता लावडले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।











Discussion about this post