कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सहित यस क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै बजार क्षेत्रमा आवतजावत गर्ने नागरिकहरूलाई लक्षित गरी निःशुल्क चिसो पिउने पानी वितरण गरिएको छ। उत्थानशील युवा सञ्जालको आयोजनामा महेन्द्रनगरको मदन चोकमा आवतजावत गर्ने सर्वसाधारणहरूलाई चिसो पानी वितरण गरिएको हो।

केही दिन यता बढेको अत्यधिक गर्मी र तातो हावा (लु) का कारण जनजीवन कष्टकर बनिरहेका बेला युवाहरूले निःशुल्क चिसो पिउने पानी वितरण गर्न थालेका हुन्। उक्त सामाजिक कार्यका लागि भीमदत्त नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालले आवश्यक समन्वय तथा सहयोग गरेका छन्।

स्थानीय सरकार र सरोकारवाला संघसंस्थाहरूको समन्वयमा युवाहरूले गरेको यस कार्यले अत्यधिक गर्मीमा सडकमा निस्कन बाध्य नागरिकहरूलाई तत्काल ठूलो राहत पुर्याएको छ। विशेष गरी गर्मीका कारण डिहाइड्रेशनको जोखिममा रहने मजदुर र सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै युवाहरूले यो अग्रसरता देखाएका हुन्। पिउने पानी वितरण कार्यक्रममा उत्थानशील युवा सञ्जालका प्रतिनिधिहरू तथा सहयोगी संस्थाहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

स्थानीय ई. बिबेक पन्तले अत्यधिक गर्मी बढेको बेला यसरी निःशुल्क चिसो पिउने पानी वितरण गर्नु सराहनीय रहेको बताउनुभयो। उहाँले युवाहरूले संकटको समयमा देखाएको यो मानवीय भावनाको कदर गर्दै उत्थानशील युवा सञ्जाल लगायत सरोकारवाला सबैमा धन्यवाद ज्ञापन गर्नुभयो।

उत्थानशील युवा सञ्जालकी सदस्य रेजिना पाल्पालीले यस क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै बजार क्षेत्रमा आवतजावत गर्ने नागरिकहरूलाई लक्षित गरी निःशुल्क चिसो पिउने पानी वितरण गरिएको बताउनुभयो। उहाँले गर्मीको प्रकोप अझै रहने देखिएकाले यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिनुभयो।

त्यस्तै, सुदृढ परियोजनाका संयोजक राजकुमारले केही दिनयता अत्यधिक गर्मी बढेसँगै सडकमा हिँड्ने यात्रु, रिक्सा चालक र दैनिक ज्यालादारी गर्ने मजदुरहरू सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो। उहाँले यस्तो जोखिमपूर्ण मौसममा जनस्वास्थ्यको रक्षाका लागि पूर्वकार्य र राहतका गतिविधिहरू आवश्यक रहेकाले युवाहरूको यो कदममा संस्थाले समन्वय गरेको उल्लेख गर्नुभयो।

गर्मीको समयमा बजार क्षेत्रमा स्वच्छ र चिसो पिउने पानीको अभाव झेल्नुपर्ने अवस्थालाई कम गर्न युवाहरूले चालेको यो कदमको स्थानीय स्तरमा निकै प्रशंसा भइरहेको छ। आगामी दिनहरूमा पनि गर्मीको प्रकोप हेरेर यस्ता राहतमूलक र सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने सञ्जालले जनाएको छ।










Discussion about this post