आहा! मेरो बालापन—कति रमाइलो अनि कति यादगार थियो त्यो समय । मेरो जन्म दार्चुला जिल्लाको तत्कालीन ग्वानी गाउँ विकास समिति, वडा नं. १ मिलमिलीमा भएको हो । सात वर्षको उमेरमा पहाडबाट तराई, कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित भीमदत्त नगरपालिका–१ बाराकुण्डामा बसाइँ सरेका थियौँ ।
मेरो अक्षरारम्भ जन्मथलो मै रहेको श्री मालिकार्जुन मावि, मिलमिलीबाट भएको थियो । त्यसपछि यहाँ बेदकोट–८ गैनदी स्थित श्री बैजनाथ माविमा दुई कक्षा सम्म अध्ययन गरेँ पछि भीमदत्त–३ तिलकपुरको श्री बैजनाथ मावि, नयाँ तिलकपुरमा सात कक्षा सम्म पढ्ने अवसर पाएँ । यही परिवेशमा मेरो सम्पूर्ण बालापन बित्यो ।
आज त्यो समय सम्झिँदा मन फेरि त्यही बालापनमा फर्किन चाहन्छ । कति आनन्दित हुन्थेँ होला, यदि त्यो समय फेरि फर्केर आइदिएको भए । तर त्यो केवल सम्झनामा मात्र सीमित रहने यथार्थलाई पनि मनन गर्छु ।
स्कुलका दिनहरू र साथीहरू सँग बिताएका क्षणहरू झलझली सम्झना आउँछन् । सानो छँदा आमाको हातको बासी ढुल्लोबाट बनेको मोटो रोटी, कहिले घ्यू लगाएको रोटी, भुटेको मकै, चना, भटमास, गुड र मिश्री—यी सबै हाम्रो टिफिन हुन्थे । अन्तराल (टिफिन टाइम) मा साथीहरूसँग बाँडेर खाने त्यो आनन्द आज कहाँ पाइन्छ र ?
घर फर्कँदा बाटोमा पाइने किमु, अशेलु, जामुन, बयर, तिम्ला, अम्बा, बेल, भुईकाफल, पिपली, इम्ली जस्ता सिजनल फलफूल टिप्दै खाने दिनहरू अझै पनि मनमा ताजा छन् । ती प्राकृतिक, पोषिला खानेकुरा आजकाल भने बिस्तारै हराउँदै गएका छन—सायद जलवायु परिवर्तन र बढ्दो जनसंख्याका कारण हुन सक्छन ।
त्यतिबेला स्कुलमा पानीको अभाव हुन्थ्यो । हामी नजिकैको विष्णु मन्दिरको कुवाबाट पानी पिउन जान्थ्यौँ । मन्दिर सरसफाई र फूल रोप्ने काममा सहयोग गर्दा पुजारीले दिने पानी–मिश्रीले हामीलाई कति खुशी बनाउँथ्यो !
हरेक शनिबार साथीहरूसँग मिलेर नजिकैको जंगलबाट दाउरा लिन जान्थ्यौँ । बिदाको समयमा तिलकपुर–बाराकुण्डा र गाउँजी खोलामा कबड्डी, क्रिकेट, भलिबल, फुटबल, चोर–पुलिस, बालुवामा घर बनाउने, पौडी खेल्ने, माछा मार्ने जस्ता खेलहरू खेल्दै दिन बित्थ्यो ।
बाबाले पढ्न बस्न भन्नुहुन्थ्यो, तर म भने साथीहरूसँग खेल्न भाग्थेँ । कहिलेकाहीँ ढिलो हुँदा बाबा खोज्न आउनुहुन्थ्यो । उहाँको चिन्ता केवल मेरो पढाइ बिग्रिन्छ कि भन्ने मात्र थियो । तर आजका अभिभावकहरूलाई आफ्ना छोराछोरी गलत संगत, झगडा वा लागुऔषधतिर लाग्लान् कि भन्ने चिन्ताले सताइरहेको छ ।
त्यो समय कति निष्कलंक, कति शुद्ध थियो ! आज समाजमा देखिने विकृति र अनैतिक क्रियाकलापहरू हाम्रो बाल्यकालमा थिएनन् ।
त्यसैले कहिलेकाहीँ मनले भन्छ— “आहा ! हाम्रो त्यो बालापन… कति सुन्दर थियो !”










Discussion about this post