सौर्य पद्धतिअनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई कर्कट सङ्क्रान्ति वा साउने सङ्क्रान्ति भनिन्छ। यही दिनबाट दक्षिणायन आरम्भ हुने, वर्षायाम परिपक्व बन्ने र खेतीपाती हरियालीले ढाकिने भएकाले सुदूरपश्चिम नेपाल, कर्णाली तथा भारतको कुमाउँ क्षेत्रमा यस पर्वलाई हरेला, हरेली वा हर्यालो सङ्क्रान्तिका रूपमा विशेष श्रद्धा र उल्लासका साथ मनाइन्छ।
“हरेला” शब्दको अर्थ हरियाली, नवजीवन, उर्वरता र समृद्धि हो। यो केवल धार्मिक पर्व होइन; प्रकृति, कृषि, स्वास्थ्य, लोकविश्वास, सामाजिक सद्भाव र वातावरणीय चेतनाको अनुपम संगम हो।
साउने सङ्क्रान्तिका दिन सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन आरम्भ हुन्छ। वैदिक परम्परामा उत्तरायण र दक्षिणायनलाई कालचक्रका दुई महत्त्वपूर्ण चरण मानिएको छ। महाभारतमा दक्षिणायनलाई आत्मसंयम, साधना र अन्तर्मुखी जीवनसँग जोडिएको कालका रूपमा वर्णन गरिएको छ।
वर्षाको यही समय कृषि उत्पादनको आधार हो। खेतबारी हरियालीले ढाकिन्छन्, नदी–नाला भरिन्छन् र प्रकृतिले नयाँ जीवन पाउँछ।
पौराणिक, वैदिक तथा दार्शनिक आधार
यद्यपि “हरेला” नामले कुनै वेद वा पुराणमा प्रत्यक्ष उल्लेख पाइँदैन, यसको मूल दर्शन वैदिक प्रकृतिपूजा र कृषि संस्कृतिमा आधारित छ।
श्रीमद्भगवद्गीता (३।१४) मा भगवान् श्रीकृष्ण भन्नुहुन्छ—
“अन्नाद् भवन्ति भूतानि, पर्जन्यादन्नसम्भवः।
यज्ञाद् भवति पर्जन्यो, यज्ञः कर्मसमुद्भवः॥”
अर्थात् सम्पूर्ण प्राणी अन्नबाट जीवित रहन्छन्, अन्न वर्षाबाट उत्पन्न हुन्छ र वर्षा सत्कर्म तथा प्रकृतिसँगको सन्तुलित सम्बन्धबाट सम्भव हुन्छ। हरेलाको सम्पूर्ण दर्शन यही भावमा आधारित छ।
अथर्ववेद (१२।१।१२) मा भनिएको छ—
“माता भूमिः पुत्रोऽहं पृथिव्याः।”
अर्थात् “पृथ्वी मेरी माता हुन्, म पृथ्वीको पुत्र हुँ।” हरेलाले पृथ्वीप्रति यही कृतज्ञता व्यक्त गर्दछ।
वैदिक वाङ्मयमा वनस्पतिको महिमा वर्णन गर्दै भनिएको छ—
“वनस्पते शतवल्शो विरोह।”
अर्थात् “हे वनस्पति! सयौँ शाखा–प्रशाखासहित समृद्ध हुँदै फलिफूल।”
हरेला पर्वमा हरियो बिरुवा, झिझिरकाँडा, मेल तथा अन्य रूखका हाँगा राख्ने परम्परा यही प्रकृतिदर्शनको सांस्कृतिक अभिव्यक्ति हो।
सुदूरपश्चिमको हरेली
सुदूरपश्चिममा सौर्य पात्रोका प्रत्येक सङ्क्रान्तिको मौलिक पहिचान छ। वैशाखमा बिषु, साउनमा हरेली (हर्यालो), भदौमा ओल्क्या, असोजमा बुडी पोल्ली र माघमा नरहरि पर्व मनाइन्छ।
हरेली असारभरि खेत जोतेर धान, मकै, कोदो, गहत, भटमास लगायतका बाली रोपेपछि किसानले प्रकृतिलाई धन्यवाद दिने दिन हो। यस दिन घर–आँगन सफा गरिन्छ, पूजा गरिन्छ र परिवारमा शुभकामना आदानप्रदान गरिन्छ।
यस दिन घरको झ्यालढोकामाथि झिजराइन राख्ने गरिन्छ। झिझिरर्कांडाले नकारात्मक शक्तिका रुपमा रहेको मानिने भुतप्रेतले खेतमा किसान काममा व्यस्त रहेको मौका छोपी घरमा प्रवेश गर्न खोज्दा ढोकामा झिझिर्काँडा देखेपछि भाग्छन, भन्ने लोक विश्वास छ ।
भूतहरूले गाउने गीत—
साउ दिदी साउ
झ्याल झिझिरकाणि, म्वाल मिजुर्काणि
“बुढा बुढी गडाखेत नन्दिना खौं,
म्वाल झिझिरकाँडी कै बाटा झौ “
“साउँ दिदी साउँ बाट झिझिर्काँडो कइबाट झाउँ“
लुतो फाल्ने संस्कार
हरेलीको प्रमुख विशेषता लुतो फाल्ने संस्कार हो।
असार महिनाभरि हिलो, वर्षा र खेतीपातीका काममा शरीरमा लाग्न सक्ने दाद, लुतो, घाउ–खटिरा तथा अन्य रोगव्याधि हटून् भन्ने कामनासहित प्रतीकात्मक रूपमा “लुतो” गाउँबाहिर पठाइन्छ।
यसले स्वास्थ्य, सरसफाइ र रोग प्रतिरोधको जनचेतना पनि अभिव्यक्त गर्छ।
झिझिरकाँडा र हरियो हाँगाको परम्परा
हरेलीका दिन घरको मूलढोका, झ्याल, गोठ तथा खेतका कान्लामा झिझिरकाँडा, मेल (बेलौती), नासपाती वा अन्य हरिया हाँगा राख्ने प्राचीन चलन छ।
#लोकविश्वासअनुसार यसले—
रोगव्याधि टाढा राख्छ।
नकारात्मक शक्ति प्रवेश गर्न दिँदैन।
पशुधनको रक्षा गर्छ।
बालीमा अनिष्ट हुन दिँदैन।
अन्नभकारी भरिपूर्ण बनाउँछ।
वैज्ञानिक दृष्टिले हेर्दा यसले प्रकृति संरक्षण, जैविक विविधता र वातावरणसँगको आत्मीय सम्बन्धलाई अभिव्यक्त गर्दछ।
कर्णालीको हरेली
कर्णाली प्रदेशमा पनि साउने सङ्क्रान्ति कृषि र स्वास्थ्यसँग जोडिएको पर्व हो। यहाँ लुतो फाल्ने, घर–आँगन सफा गर्ने, मौसमी अन्न तथा कन्दमूल खाने, राम्रो वर्षा र उब्जनीको कामना गर्ने चलन छ।
कुमाउँको मौलिक लोक पर्व: हरेला
भारतको उत्तराखण्ड राज्यको कुमाउँ क्षेत्र पनि सांस्कृतिक रूपमा निकै धनी छ। यहाँका लोक पर्वहरू सीधा प्रकृति, कृषि र पर्यावरणसँग जोडिएका छन्। यिनै पर्वहरूमध्ये ‘हरेला’ कुमाउँको सबैभन्दा लोकप्रिय र महत्त्वपूर्ण लोक पर्व हो। ‘हरेला’ शब्दको शाब्दिक अर्थ ‘हरियाली’ वा ‘हरियो दिन’ हुन्छ। यो पर्व विशेष गरी साउन महिनाको आगमन (कर्कट संक्रान्ति) को प्रतीक हो, जसले नयाँ बाली, समृद्धि र मानव-प्रकृतिको अटुट सम्बन्धलाई दर्साउँछ।
हरेला वर्षमा तीन पटक (चैत, साउन र असोज) मनाइने भए तापनि साउन महिनामा मनाइने ‘साउने हरेला’ को महत्त्व सबैभन्दा बढी छ। साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ। कुमाउँ क्षेत्र (मानसखण्ड) लाई भगवान शिव र माता पार्वतीको निवास स्थान मानिने हुनाले यस पर्वलाई शिव-पार्वतीको विवाह उत्सव र उनीहरूको आशिर्वाद प्राप्त गर्ने शुभ दिनका रूपमा पनि लिइन्छ।
पर्व मनाउने विधि (सप्तधान्यको बुवाइ)
हरेला पर्वको तयारी उत्सव भन्दा ९ वा १० दिन पहिले नै सुरु हुन्छ:
१. गौडधुलि (बीज रोप्ने): पर्वको ९ दिन अगाडि घरको पूजा कोठामा सानो काठ वा टोकरीमा माटो राखेर सात प्रकारका अन्नहरू (जस्तै: गहुँ, जौ, मकै, तोरी, धान, गहत र मास) मिसाएर बोइन्छ। यसलाई ‘सप्तधान्य’ भनिन्छ।
२. अँध्यारोमा हेरचाह: यो भाँडोलाई घाम नलाग्ने अँध्यारो ठाउँमा राखिन्छ र दिनमा दुई-तीन पटक पानी छर्किइन्छ। घाम नपाएका कारण यी अंकुरहरू पहेंलो र हरियो रंगको सम्मिश्रणमा निकै आकर्षक र लामा भएर उम्रिन्छन्।
३. डिकारे (माटाका मूर्ति) को निर्माण: हरेला काट्नुभन्दा एक दिन अगाडि माटोबाट भगवान शिव, माता पार्वती र गणेश-कार्तिकेयका सुन्दर मूर्तिहरू बनाइन्छ, जसलाई स्थानीय भाषामा ‘डिकारे’ भनिन्छ। यिनलाई प्राकृतिक रंगले सजाइन्छ र पूजा गरिन्छ।
उत्सवको दिन र आशीर्वाद
कर्कट संक्रान्तिका दिन बिहानै स्नान गरी घरका मुली वा पुरोहितले ती ९ दिन अगाडि उम्रेका हरिया अङ्कुरहरू (हरेला) लाई विधिपूर्वक काट्छन्।
त्यसपछि घरका ज्येष्ठ सदस्यहरूले परिवारका साना सदस्यहरूलाई आशीर्वाद दिन्छन्। आशीर्वाद दिँदा हरेलालाई खुट्टा, घुँडा, काँध हुँदै टाउकोसम्म पुर्याइन्छ र अन्त्यमा टाउको र कानको पछाडि सिउरिदिने परम्परा छ। यसरी आशीर्वाद दिँदा कुमाउँनी भाषामा एउटा सुन्दर मन्त्र उच्चारण गरिन्छ:
“जी रया, जागी रया, तिस्टेया, पनपिया।
दूब जसि हरि जड हो, ब्यार जस फैलिए…”
परम्परागत खाद्यपरिकारहरू
कुनै पनि कुमाउँनी तिहार पकवान बिना अधुरो हुन्छ। हरेलाको दिन घरघरमा विशेष शाकाहारी परिकारहरू बनाइन्छ। यस दिन मुख्य गरी पुरी, खिर, मालपुवा, मासको दालको बारा (पकोडा) र राइतो बनाएर भगवानलाई चढाएपछि प्रसादको रूपमा ग्रहण गरिन्छ।
पर्यावरणीय महत्त्व (वृक्षारोपण)
वर्तमान समयमा हरेला पर्वको महत्त्व अझ बढेको छ किनभने यो पर्वले पर्यावरण संरक्षणको ठूलो सन्देश दिन्छ। उत्तराखण्ड सरकारले यस दिनलाई ‘वृक्षारोपण दिवस’ को रूपमा समेत मनाउने गर्दछ। यस दिन कुमाउँका हरेक घरपरिवारले आफ्नो खेत, आँगन वा सार्वजनिक ठाउँमा कम्तीमा एउटा फलफूल वा छायादार बोटबिरुवा रोप्ने गर्दछन्। यस्तो मान्यता छ कि हरेलाको दिन रोपेको बिरुवा कहिल्यै मर्दैन र सधैं सप्रिन्छ।
कुमाउँको हरेला पर्व केवल एउटा धार्मिक अनुष्ठान मात्र होइन, यो प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने माध्यम हो। यसले नयाँ पुस्तालाई पर्यावरण जोगाउन र आफ्नो परम्परासँग जोडिन प्रेरणा दिन्छ। नेपालको सुदूरपश्चिम (विशेष गरी महाकाली र सेती क्षेत्र) को संस्कृति पनि कुमाउँसँग निकै मिल्दोजुल्दो भएकाले यस क्षेत्रमा पनि यसको सांस्कृतिक सुवास र प्रभाव प्रष्ट रूपमा देख्न सकिन्छ।
हरेलाको आशिष
“जी रया, जागी रया, तिस्टेया, पनपिया।
स्यावे जसि बुद्धि हो, स्यों जसो त्राण हो।
धरती जसो बिस्तार हो, आकाश जसि उच्चता हो।
दूब जसि हरि जड हो, ब्यार जस फैलिए।
सिल पिसि भात खाया, जाँठि टेकि झाड़ जाया।
यो दिन-मास भेटिनै रया, हरेला त्यार मनानै रया।”
हरेला लोकगीत
हरेला रोप्ने दिन र हरेला काट्ने दिनमा कुमाउँका महिलाहरूले परम्परागत वाद्यवादन (हुड्का र ढोलक) को तालमा मङ्गल गीतहरू गाउँछन्। यस गीतमा प्रकृतिको सुन्दरता र पर्वको उमङ्ग यसरी झल्किन्छ:
“हरेला औं तौ, कौतिक गाउँलो,
हिमालय की काँठि जसि, डाँडा हरी भरी हौलो।
सातै धान्य बोई राखो, দেবतों थान सजाई राखो,
शिव-पार्वती क आशीर्वाद, घर-घर छाई राखो।”
सुदूरपश्चिममा भनिन्छ—
“हरेला आयो, हरियाली ल्यायो; खेत हरिया, भकारी भरिया।”
कुमाउँमा ज्येष्ठहरूले यसरी आशीर्वाद दिने चलन छ—
“जिय रये, जागि रये, धरती जस आगव, आकाश जस चाकव।”
अर्थात् दीर्घायु होऊ, पृथ्वीजस्तै धैर्यवान् र आकाशजस्तै विशाल बन।
साझा हिमालयी संस्कृति
सुदूरपश्चिम, कर्णाली र कुमाउँ ऐतिहासिक रूपमा साझा हिमालयी सभ्यताका भाग हुन्। त्यसैले हरेलाको मूल सन्देश पनि साझा छ—
प्रकृतिको सम्मान,
किसानको श्रमको कदर,
हरियालीको संरक्षण,
परिवार र समाजको एकता,
स्वास्थ्य र समृद्धिको कामना।
वैज्ञानिक दृष्टिकोण
हरेलाका परम्पराहरूमा गहिरो वैज्ञानिक चेतना पनि लुकेको छ।
वर्षायाममा सरसफाइको सन्देश।
मौसमी खाद्यवस्तुको सेवन।
बिरुवा र रूख संरक्षण।
कृषि चक्रको सम्मान।
वातावरणीय सन्तुलनप्रतिको चेतना।
आज जलवायु परिवर्तनको चुनौतीका बीच हरेलाको सन्देश अझ सान्दर्भिक बनेको छ।
निष्कर्ष
हरेला (हरेली/हर्यालो) सङ्क्रान्ति सुदूरपश्चिम, कर्णाली र कुमाउँको साझा हिमालयी सभ्यताको अमूल्य सांस्कृतिक सम्पदा हो। यसले हरियो बिरुवामा भविष्य देख्छ, किसानको पसिनामा समृद्धि खोज्छ, पृथ्वीलाई माता मान्छ र प्रकृतिलाई देवत्वका रूपमा सम्मान गर्छ।
हरेला केवल एउटा पर्व होइन; यो प्रकृतिसँग सन्तुलित जीवन बाँच्ने सभ्यताको दर्शन हो। यसले हामीलाई हरियाली जोगाउन, पानी–माटोको संरक्षण गर्न, कृषिलाई सम्मान गर्न र आफ्ना मौलिक संस्कारलाई भावी पुस्तामा हस्तान्तरण गर्न प्रेरित गर्दछ।
“हरेलाको हरियो अंकुरले केवल खेतलाई होइन, मानव हृदयलाई पनि हराभरा बनाओस्; पृथ्वीप्रतिको श्रद्धा, प्रकृतिप्रतिको प्रेम र समाजप्रतिको उत्तरदायित्व सधैं हरियालीझैँ जीवन्त रहोस्।”
– जगन्नाथ आत्रेय









Discussion about this post