काठमाडौं । ‘पीएचपी’ प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी भेटिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाले सुरक्षा सतर्कता बढाएका छन्। सम्भावित साइबर आक्रमणबाट ग्राहकका व्यक्तिगत विवरण र बैंकिङ प्रणाली सुरक्षित राख्न बैंकहरूले प्राविधिक जाँच तथा सुरक्षा सुधारको काम अघि बढाएका हुन्।
ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र महालक्ष्मी विकास बैंकलगायतले सूचना जारी गर्दै आवश्यक प्राविधिक सुधार तथा मर्मतसम्भार भइरहेको जनाएका छन्।
बैंकहरूले ग्राहकका व्यक्तिगत विवरण र डिजिटल कारोबार सुरक्षित राख्न आवश्यक कदम चालिरहेको बताएका छन्। यद्यपि, सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा प्रणालीमा सुधार गरिँदैमा एटीएमलगायत सबै बैंकिङ सेवा बन्द भएको भन्ने नरहेको जनाइएको छ।
यसैबीच, साइबर सुरक्षा विज्ञहरूले यस्तो अवस्थामा शङ्कास्पद सन्देश, इमेल तथा लिङ्कबाट सावधान रहन आग्रह गरेका छन्। अपरिचित लिङ्क नखोल्न र व्यक्तिगत बैंकिङ विवरण कसैसँग साझा नगर्न उनीहरूको सुझाव छ।
विश्वभर वेबसाइट निर्माणमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी भेटिएपछि नेपालसहित विभिन्न देशका सरकारी कार्यालय, बैंक, अस्पताल तथा अन्य संस्थाले वेबसाइट सुरक्षाबारे सतर्कता बढाएका छन्।
नेपालको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पनि अत्यन्त जरुरी सूचना जारी गर्दै सरकारी, वित्तीय तथा निजी संस्थालाई वेबसाइट र प्रणाली सुरक्षित संस्करणमा अद्यावधिक गर्न निर्देशन दिएको छ।










Discussion about this post