काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। उनको आगमनसँगै रोयल्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ।
२८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपको क्रिकेटमा आक्रामक खेलका लागि परिचित छन्। मध्यक्रममा ब्याटिङ गर्ने उनी तीव्र गतिमा रन बनाउन र टोलीलाई कठिन परिस्थितिबाट उकास्न सक्ने खेलाडीका रूपमा चिनिन्छन्।
रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले एकदिवसीयमा ८७३ र टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन बनाएका छन्। सबैखाले टी–२० क्रिकेटमा २८३ खेल खेलेका उनले ५ हजार ९० रन बनाउनुका साथै ३२४ छक्का प्रहार गरेका छन्।
फ्रेन्चाइज क्रिकेटमा अनुभवी रदरफोर्डले इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। सन् २०२५ को आईपीएलमा गुजरात टाइटन्सबाट खेलेका उनले १३ खेलमा २९१ रन बनाएका थिए।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको अनुभव र आक्रामक ब्याटिङले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। उनले रदरफोर्डको उपस्थितिले समर्थकलाई समेत उत्साहित बनाउने अपेक्षा गरेका छन्।
रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्। नेपाली समर्थकका अगाडि खेल्दै टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्ने र दर्शकलाई रोमाञ्चक क्रिकेटको अनुभव दिने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।
रदरफोर्डको अनुबन्धसँगै एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको प्रदर्शनलाई लिएर समर्थकको चासो थप बढेको छ।










Discussion about this post