महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाकी सिमा जैसीले सामाजिक सञ्जालबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै अचार उद्योग सञ्चालन गरिरहनुभएको छ। एक वर्षअघि आधा किलो कुखुराको मासुको अचार बनाएर सुरु गरेको व्यवसाय अहिले सुदूरपश्चिम हुँदै काठमाडौंसम्म पुगेको छ।
सिमाले अहिले दैनिक १५ देखि २० किलोसम्म विभिन्न प्रकारका अचार उत्पादन गर्दै आउनुभएको छ। उहाँले डल्ले खुर्सानी, लप्सी, आँपलगायतका अचार बनाउँदै आउनुभएको छ।
सामाजिक सञ्जालमा अचार बनाउने तरिका हेरेर सीप सिक्नुभएकी सिमाले सुरुमा घरायसी प्रयोजनका लागि अचार बनाउनुभएको थियो। पछि अचारको स्वाद र गुणस्तरलाई व्यावसायिक रूपमा अघि बढाउने सोच बनाएर ‘सिमा ड्राई फुड तथा मसाला अचार उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो।
अहिले सिमाको अचार कञ्चनपुरमा मात्रै नभई सुदूरपश्चिमका विभिन्न जिल्ला तथा काठमाडौंसम्म पुग्ने गरेको छ। पछिल्लो समय अचारको माग बढ्दै गएपछि उत्पादनले माग धान्नसमेत कठिन हुन थालेको सिमाको भनाइ छ।
उहाँका अनुसार सामाजिक सञ्जाल उत्पादनको प्रचारप्रसार र नयाँ ग्राहकसम्म पुग्ने महत्वपूर्ण माध्यम बनेको छ। सामाजिक सञ्जालबाटै अचार बनाउन सिकेकी सिमाले अहिले त्यही माध्यमबाट आफ्नो उत्पादनको बजार विस्तार गरिरहनुभएको छ।
अचार उत्पादनमा सिमालाई परिवारका सदस्यले समेत सहयोग गर्दै आएका छन्। कच्चा पदार्थ व्यवस्थापन, अचार तयार गर्ने, प्याकेजिङ गर्ने र बजारसम्म पुर्याउने काममा परिवारको साथ रहेको उहाँ बताउनुहुन्छ।
सिमाले हाल व्यवसायबाट मासिक करिब ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ। सुरुवाती समयमा बजार खोज्न चुनौती भए पनि गुणस्तर र स्वादमा ध्यान दिँदै निरन्तर काम गरेपछि ग्राहकको विश्वास बढ्दै गएको उहाँको अनुभव छ।
आगामी दिनमा अचारका नयाँ परिकार थप गर्दै उत्पादन बढाउने, प्याकेजिङलाई आकर्षक बनाउने र देशका विभिन्न बजारसम्म आफ्नो उत्पादन पुर्याउने सिमाको योजना छ।
सामाजिक सञ्जालबाट सिकेको सीपलाई निरन्तर अभ्यास र मेहनतमार्फत व्यवसायमा रूपान्तरण गर्न सकिन्छ भन्ने उदाहरण सिमाको अचार उद्योगले प्रस्तुत गरेको छ। घरायसी कामसँगै आफ्नै व्यवसाय सञ्चालन गरेर सिमाले स्थानीयस्तरमै स्वरोजगार र आत्मनिर्भरताको बाटो रोज्नुभएको छ।










Discussion about this post