काठमाडौं । नेपालले भदौ महिनामा विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरी ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ आम्दानी भएको हो।
प्राधिकरणका अनुसार भारतका हरियाणा तथा बिहार राज्य र बंगलादेशतर्फ द्विपक्षीय सम्झौतामार्फत तथा विद्युत् बजारमार्फत विद्युत् निर्यात गरिएको थियो।
द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख २१ हजार २८८ युनिट विद्युत् निर्यातबाट ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २९९ रुपैयाँ आम्दानी भएको छ। यस्तै, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९८३ रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात भने रोकिएको छ। अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशमा विद्युत् निर्यात पुनः सञ्चालन गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षसँग अनुरोध गरिएको प्राधिकरणले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चुनौतीपूर्ण अवस्थाका बाबजुद भदौमा विद्युत् व्यापारमा सुधार भएको बताएका छन्। उनका अनुसार गत आर्थिक वर्षको भदौमा ४ अर्ब ७० करोड ८२ लाख ८८ हजार ५६५ रुपैयाँ बराबरको विद्युत् निर्यात आम्दानी भएको थियो।
यस वर्षको भदौमा गत वर्षको तुलनामा निर्यात आम्दानी ३८ करोड २७ लाख ३५ हजार ४३५ रुपैयाँले बढेको छ। मन्त्री श्रेष्ठले विद्युत् प्रणालीको निरन्तर समन्वय तथा प्राधिकरणका इन्जिनियर, प्राविधिक र कर्मचारीको प्रयासबाट यो उपलब्धि हासिल भएको बताएका छन्।










Discussion about this post