पोखरा — गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकभजन चुड्का नेपालको अमूल्य सांस्कृतिक सम्पदामध्ये एक रहेको उल्लेख गर्दै यसले अध्यात्मिक चेतना, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको प्रतिनिधित्व गर्ने बताउनुभएको छ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले हिमाल, पहाड र तराईका विभिन्न समुदायले सिर्जना गरेका लोकगीत, लोकभजन, लोकनृत्य, भाषा, साहित्य, कला र संस्कारले नेपालको राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो।
प्रदेश प्रमुख भट्टले नेपालको मौलिक पहिचान सांस्कृतिक विविधतामा आधारित रहेको उल्लेख गर्दै भजन चुड्कामा रहेको ऊर्जा, सङ्गीतको गहिराइ र अनुशासन विश्वका अन्य सङ्गीतभन्दा विशिष्ट रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले भजन चुड्का केवल भक्तिगान नभई सत्य, करुणा, नैतिकता, सहिष्णुता, अनुशासन, सामाजिक एकता र मानव सेवाको सन्देश प्रवाह गर्ने माध्यम भएको बताउनुभयो। गाउँघरका मन्दिर, भजनमण्डली र सामुदायिक जमघटमा पुस्तौंदेखि गुञ्जिँदै आएको यो परम्पराले नेपाली समाजलाई एकसूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ।
गण्डकी प्रदेश प्राकृतिकसँगै सांस्कृतिक रूपमा पनि अत्यन्त धनी रहेको उल्लेख गर्दै उहाँले खैंजडीको ताल, मुजुराको झङ्कार र लोकभजनको सुगन्ध मिसिएको यस प्रदेशलाई लोक संस्कृति र भजनको उद्गमस्थलका रूपमा चित्रण गर्नुभयो।
आधुनिक प्रविधि, विश्वव्यापीकरण र बदलिँदो जीवनशैलीका कारण परम्परागत कला–संस्कृतिमाथि चुनौती बढ्दै गएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले लोकभजन चुड्काजस्ता मौलिक सम्पदाको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।
कार्यक्रममा उहाँले भजन चुड्का प्रस्तुत गरेका ७ वर्ष र १२ वर्षका दुई बालकलाई नगद पुरस्कार प्रदान गर्दै उनीहरूलाई प्रोत्साहन गर्नुभएको थियो।










Discussion about this post