काठमाडौं – नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशीका अवसरमा कागलाई पूजा गरी मीठा–मीठा खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ।
धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा लिने गरिन्छ। यमराजले लोकको खबर कागमार्फत थाहा पाउने विश्वास रहेकाले आजका दिन कागलाई पूजा गरी मनपर्ने खानेकुरा दिने परम्परा छ। कागले यमराजसमक्ष राम्रो खबर पुर्याओस् भन्ने जनविश्वासका साथ कागलाई दही–भातलगायत परिकार खुवाउने गरिन्छ।
लोकपरम्पराअनुसार घरआँगनमा काग आएर कराएमा शुभ समाचार आउने विश्वाससमेत रहिआएको छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गरिन्छ।
तिहार पर्वसँग यमराजको पूजा र यमदीपदानको परम्परा पनि जोडिएको छ। यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वासका साथ परिवारका सदस्यका नाममा दक्षिण फर्काएर यमदीपदान गर्ने चलन छ।
यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा कात्तिक २२ गते आइतबार एकैदिन परेको छ। गाईपूजा कात्तिक २३ गते सोमबार तथा गोरुपूजा, हलितिहार, गोवर्द्धन पूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
तिहारको मुख्य आकर्षण भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ। समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटलाई निर्धारण गरेको छ।
लगातार सार्वजनिक बिदा परेसँगै तिहारको रौनक बढेको छ। पाँच दिनसम्म मनाइने यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, प्रेम, भाइचारा र सांस्कृतिक एकताको सन्देश दिने विश्वास गरिन्छ।










Discussion about this post