काठमाण्डौ – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ ।
विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने धनतेरस पछिल्ला केही वर्षयता काठमाण्डौ उपत्यकासहित देशका विभिन्न स्थानमा पनि मनाउने प्रचलन बढ्दै गएको छ । धनतेरसका दिन साँझ घरघरमा दीप प्रज्वलन गर्नुका साथै धातुका नयाँ भाँडाकुँडा तथा गरगहना खरिद गरी पूजा गर्ने परम्परा छ ।
धनतेरससँगै आज यमदीपदान पनि गरिन्छ । त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ ।
तिहारअन्तर्गत पर्सि कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा मनाइनेछ । त्यसैगरी कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
तिहारलाई उज्यालो, आपसी सद्भाव, प्रेम र पारिवारिक एकताको पर्वका रूपमा मनाउने गरिन्छ ।










Discussion about this post