कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -८ तिलाचौरमा रहेको प्रसिद्ध सिद्धनाथ मन्दिरमा ‘कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव २०८२’ आयोजना गरिने भएको छ।
मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने र सुविधासम्पन्न सत्संग हल निर्माण गर्ने मुख्य उद्देश्यका साथ यो महोत्सवको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोरख पुजाराले जानकारी दिनुभयो। यो दिव्य धरामा धार्मिक महामहोत्सवको आयोजना गरी प्रत्येक व्यक्तिलाई भक्तिमार्गमा सिञ्चित गर्न र शास्त्रीय महत्त्वबारे जानकारी गराउने पनि महोत्सवको लक्ष्य रहेको उहाँले बताउनुभयो।
असोज २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने यस हरिहर अमृत वर्षा एवं धार्मिक महामहोत्सवमा विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू समावेश गरिनेछन्। यसमा कथा प्रवचन, राष्ट्रिय कलाकारहरूबाट भजन-कीर्तन, लक्ष्यवर्ती प्रज्ज्वलन, भूमिदान, शान्तिकलश पूजन, महालक्ष्मी यन्त्रको पूजा र शोभायात्रा जस्ता कार्यक्रमहरू रहनेछन्।
अध्यक्ष पुजाराले यस्तो शक्ति धाममा उपस्थित भई मनशुद्धि, तनशुद्धि र धनशुद्धिको लाभ लिन सबैलाई आग्रह गर्नुभएको छ।
महोत्सवलाई सफल बनाउन ५१०० सदस्यीय विशाल मूल आयोजक समिति गठन गरिने भएको छ। कञ्चनपुर जिल्लाका सम्पूर्ण कार्यालय प्रमुखहरूलाई संरक्षक, ज्येष्ठ नागरिकहरूलाई सल्लाहकार तथा जिल्लाका विशेष तह र तप्कामा रहेका गण्यमान्य, लब्धप्रतिष्ठित समाजसेवी, बुद्धिजीवी, धर्मानुरागी, शिक्षाप्रेमी र राष्ट्रप्रेमी महानुभावहरूलाई विशेष भूमिकामा मनोनित गरिने आयोजकले जनाएको छ।
महोत्सवको तयारीका क्रममा आइतबार मन्दिर परिसरमा सचिवालय भवनको उद्घाटन गरिएको छ। भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख नीलम लेखक जोशीले सो भवनको उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख जोशीले यस धार्मिक कार्यमा नगरपालिकाबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राष्ट्रिय शैक्षिक अभियन्ता ईश्वर शरण महाराजले सुदूरपश्चिममै पहिलोपटक ५१०० सदस्यीय विशाल मूल आयोजक समिति रहेको बताउँदै यस महोत्सवले यस क्षेत्रको धार्मिक पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्र जोगाउन धर्म, संस्कार र संस्कृति अपरिहार्य रहेको भन्दै सबैलाई आ-आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभयो।
आयोजकका अनुसार ‘कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव २०८२’ मा राष्ट्रिय शैक्षिक अभियन्ता ईश्वर शरण महाराजले नै प्रवचन दिनुहुनेछ।










Discussion about this post