जनक दुर्गम पहाड गाउँको एउटा सरकारी स्कुलमा पढ्थ्यो । एउटा गरिब किसानको छोरो ऊ बिहान गाइबस्तुलाई घाँसपात खुवाएर कहिलेकाही त खाली पेट नै स्कुल पुग्थ्यो । ऊ ठूलो भएर “डाक्टर” बन्ने सपना देख्ने गर्दथ्याे । तर स्कुल पुग्दा हरेक दिन एउटा नयाँ कथा हुन्थ्यो ।
“आज हड्ताल”, “आज शिक्षकहरू तालिममा”, “भोलि आन्दोलन छ” आदि इत्यादी ।
गणितका शिक्षक अभ्यास गराउनुको साटो स्थानीय नेताको भाषण लेख्दै बस्थे । विज्ञानका सर पार्टी बैठकमा ब्यस्त हुन्थे । स्कुलको घण्टी निरन्तर बजिरहे पनि कक्षा भने सुनसान हुन्थ्यो ।
एकदिन जनकले आँखा टिलपिलाउँदै आमालाई भन्यो, “आमा ! हाम्रा सरहरू पढाउनु भन्दा कुर्सी खोज्नै ब्यस्त हुन्छन् । हामी गरिबका सपना के झुटा हुन् त ?”
आमाले चुपचाप छोरोको टाउको सुम्सुम्याइन् मात्र । तर उनी निरुत्तर थिईन् ।
बाहिर स्कूलको गेटमा ठूलाे अक्षरमा लेखिएको थियो— “शिक्षा नै देशको मेरुदण्ड हो ।” भित्रभित्रै भने उनको छाेराकाे सपनाको मेरुदण्ड मक्किएर चर्किदै थियो ।
✍️ रमेश पन्त मीतबन्धु
महेन्द्रनगर, कञ्चनपुर









Discussion about this post