काठमाडौँ – नेपाल शिक्षक महासंघले जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। सोमबार राजधानीमा बसेको आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघको पदाधिकारी बैठकले आफ्ना मागहरु सम्बोधन नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ।
बैठकपछि महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा शिक्षकहरू सहभागी नहुने निर्णय सार्वजनिक गरेका छन्। उक्त निर्णयसँगै कक्षा १२ को परीक्षा सञ्चालन हुने नहुने भन्ने विषयमा थप अन्योलता देखिएको छ। १३ दिनदेखि राजधानीमा जारी आन्दोलनका बाबजुद सरकारले माग सम्बोधन नगरेको भन्दै महासंघले आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको हो।
यद्यपि, महासंघले आन्दोलनसँगै सरकारसँगको संवादलाई पनि निरन्तरता दिने बताएको छ। अध्यक्ष सुवेदीका अनुसार, शिक्षकहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने र आवश्यक परे थप कडा कदम चालिनेछ। शिक्षक आन्दोलनको चपेटामा परी लाखौं विद्यार्थीको परीक्षा भविष्य अन्योलमा परेको छ भने अभिभावकहरू पनि चिन्तित बनेका छन्। अब सरकारले छिट्टै पहल नगरे आन्दोलनको असर झन् गहिरो हुने देखिन्छ।