कञ्चनपुर – कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर -९ मा तीन महिने सिलाइ कटाइ तालिम सुरु भएको छ। बुधवार देखी व्यावसायिक सीप विकास तालिम केन्द्र कञ्चनपुर र वडा नम्बर -९ को संयुक्त सहकार्यमा तालिम सुरु गरिएको हो।
तालिमको उद्घाटन कार्यक्रम व्यावसायिक सीप विकास तालिम केन्द्र कञ्चनपुरका प्रमुख तर्क राज विष्टको प्रमुख आतिथ्यतामा र वडा नम्बर ९ का वडा अध्यक्ष जनक बहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको छ। उद्घाटन समारोहमा सीप विकास केन्द्रका कर्मचारी, वडा समितिका पदाधिकारी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सीप विकास तालिम केन्द्र कञ्चनपुरका प्रमुख तर्क राज विष्टले तालिमले स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन र व्यावसायिक सीप प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले तालिमले सहभागीहरूलाई रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, वेदकोट नगरपालिका वडा नम्बर -९ का वडा अध्यक्ष जनक बहादुर विष्टले तालिमले वडाका बासिन्दाहरूको जीवनस्तर उकास्न र आर्थिक सशक्तीकरणमा टेवा पुग्ने बताए। उनले स्थानीय स्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता पनि जाहेर गरे।
तीन महिनासम्म सञ्चालन हुने यो तालिममा सहभागीहरूलाई सिलाइ कटाइसम्बन्धी आधारभूतदेखि व्यावसायिक ज्ञान र सीप प्रदान गरिनेछ।










Discussion about this post