काठमाडौं । रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड पछिल्लो समय बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
समुद्री सतहदेखि ४ हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्व तथा मेलाका बेला मात्रै पर्यटकको चहलपहल हुने गरे पनि अहिले वर्षभरि आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्।
सडक सञ्जालको विस्तार र पदमार्गमा होटल तथा लजको सुविधा थपिएपछि गोसाइँकुण्डको यात्रा सहज बन्दै गएको स्थानीय व्यवसायी बताउँछन्। खानेबस्ने सुविधा विस्तार भएसँगै जुनसुकै मौसममा पनि पदयात्री आउने गरेको खेन्दीकी होटल व्यवसायी सृजना घलेले बताउनुभयो।
पहिले विशेष धार्मिक अवसरमा मात्रै पर्यटकको चहलपहल हुने गरे पनि पछिल्लो समय नियमित रूपमा पर्यटक आउन थालेको उहाँको भनाइ छ।
धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० जना पर्यटक गोसाइँकुण्ड क्षेत्रमा पुग्ने गरेका छन्। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पदयात्राको आकर्षणले गोसाइँकुण्डको पर्यटन सम्भावना थप विस्तार हुँदै गएको छ।










Discussion about this post