काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालय क्षेत्रको भू–वैज्ञानिक अध्ययन, विपद् जोखिम न्यूनीकरण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड दिएको छ।
नेपाल भौगर्भिक समाजद्वारा काठमाडौंमा आयोजित तीनदिने सम्मेलनमा हिमालयको भूवैज्ञानिक विकास, भूकम्प, पहिरो, जलवायु परिवर्तन, जलस्रोत, खनिज तथा ऊर्जा स्रोत र उत्थानशील पूर्वाधारका विषयमा छलफल भएको थियो।
समाजका अध्यक्ष भास्कर खतिवडाका अनुसार सम्मेलनमा आधुनिक भूवैज्ञानिक प्रविधि, वैज्ञानिक अनुसन्धान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई प्राथमिकता दिइएको थियो।
नेपालसहित २७ देशका ३४५ जना भूवैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्ति तथा सरोकारवालाको सहभागिता रहेको सम्मेलनमा रसुवाको भोटेकोशी विपद् र बहुप्रकोपीय जोखिमबारे समेत अध्ययन तथा अनुसन्धान प्रस्तुत गरिएको थियो।
सम्मेलनमा सातवटा मुख्य वक्तव्य, १३ वटा आमन्त्रित प्रस्तुति, ७६ वटा अनुसन्धानात्मक कार्यपत्र र ५८ वटा पोस्टर प्रस्तुत गरिएको समाजका महासचिव शिवकुमार बाँस्कोटाले जानकारी दिनुभयो।
सम्मेलनले वैज्ञानिक तथ्याङ्कको गुणस्तर सुधार, आधुनिक अनुगमन प्रविधिको प्रयोग, बहुविषयगत अनुसन्धान तथा विपद् जोखिम न्यूनीकरणमा सहकार्य बढाउन सुझाव दिएको छ।
त्यस्तै, हिमालय तथा पर्वतीय भूविज्ञानको अध्ययनलाई प्रभावकारी बनाउन शैक्षिक संस्था, सरकारी निकाय र वैज्ञानिक समुदायबीच समन्वय तथा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएको छ।










Discussion about this post