कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका सुदूरपश्चिम प्रदेशको उत्कृष्ट नगरपालिकाका रूपमा छनोट भएको छ । प्रधानाध्यापक संघ नेपाल (प्यान) को तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का अवसरमा प्रदान गरिने राष्ट्रिय पुरस्कार तथा सम्मानका लागि वेदकोट छनोट भएको हो ।
प्रधानाध्यापक संघ नेपालले नगरपालिकालाई पठाएको निमन्त्रणापत्रअनुसार विद्यालय शिक्षा तथा समग्र शिक्षा प्रणालीमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गर्न लागिएको हो ।
संघले शिक्षा क्षेत्रमा योगदान, नेतृत्व क्षमता, नवप्रवर्तन र उपलब्धिका आधारमा विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, शिक्षाविद् तथा सञ्चारकर्मीलाई विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ । पुरस्कार छनोट समितिले निष्पक्ष, पारदर्शी र योग्यतामा आधारित प्रक्रियाबाट बेदकोटलाई सुदूरपश्चिमको उत्कृष्ट नगरपालिकाका रूपमा छनोट गरेको निमन्त्रणापत्रमा उल्लेख छ ।
नगरपालिकालाई प्रदान गरिने सम्मान ग्रहण गर्न आगामी मंसिर ४ गते जनकपुरधाममा आयोजना हुने कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको छ । कार्यक्रम धनुषाको जनकपुरधाम -४ स्थित महेन्द्र नारायण निधि सभा हल, विषहारा पोखरीमा आयोजना हुनेछ ।
‘सँगै मिलेर अझ उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनले शिक्षा क्षेत्रमा उत्कृष्टता, उत्तरदायित्व र सकारात्मक परिवर्तनलाई प्रोत्साहन गर्ने आयोजकको अपेक्षा छ ।
सुदूरपश्चिमको उत्कृष्ट नगरपालिकाका रूपमा छनोट भएको बेदकोटले शिक्षा क्षेत्रमा गरेका प्रयास र उपलब्धिलाई राष्ट्रिय स्तरमा सम्मान गर्न लागिएको हो ।










Discussion about this post