बैतडी – बैतडीको शिवनाथ गाउँपालिकाले आगामी वैशाख १२ र १३ गते दुई दिने निःशुल्क बृहत् आँखा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुने यो शिविरले स्थानीय बासिन्दालाई आँखा सम्बन्धी उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले यो शिविरको मुख्य उद्देश्य गाउँपालिकाबासीलाई स्थानीय स्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताए। “हाम्रा नागरिकले सामान्य आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउन र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न हामीले यो शिविर आयोजना गरेका हौं,” उनले भने। अध्यक्ष साउँदका अनुसार गाउँपालिकाले हरेक वर्ष आँखा शिविरमार्फत नागरिकलाई सेवा प्रदान गर्दै आएको छ।
शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले शिविर गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना हुने जानकारी दिए। उनका अनुसार शिविरमा आँखा परीक्षण, परामर्श सेवा, मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया लगायत आँखा सम्बन्धी समस्याको चेकजाँच र उपचार गरिनेछ। “आँखाको समस्या भएका सबै नागरिकलाई शिविरमा आएर सेवा लिन हामी आग्रह गर्दछौं,” महताले भने।
आँखा सम्बन्धी समस्याको समाधानका लागि अन्यत्र जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै यो शिविरले स्थानीय स्तरमै गुणस्तरीय उपचार प्रदान गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले सबै आँखा रोगीहरूलाई यो अवसरको लाभ लिन अनुरोध गरेको छ।
