कञ्चनपुर – वेदकोट नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरअन्तर्गत मङ्गलबार वेदकोट नगरपालिका वडा नम्बर ५ मा शिविर सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष पुष्कर सिंह विष्टको प्रमुख आतिथ्यतामा भएको थियो।
उक्त शिविरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, धरमपुर स्वास्थ्य चौकीका प्रमुख तथा कर्मचारीहरू, धनगढी नेत्रालयका पदाधिकारीहरू र स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो। कार्यवाहक वडा अध्यक्ष पुष्कर सिंह विष्टले शिविरको उद्घाटन गर्दै स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पुर्याउने यो अभियान निकै महत्त्वपूर्ण रहेको बताए। उनले स्थानीयवासीको स्वास्थ्यप्रति नगरपालिका सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे।

यो निःशुल्क आँखा शिविर चैत २१ गतेदेखि सुरु भएको हो। नगरपालिकाले दिएको जानकारीअनुसार आज चैत २७ गते वडा नम्बर ६ मा, २८ गते वडा नम्बर ७ मा, २९ गते वडा नम्बर ८ मा, ३० गते वडा नम्बर ९ मा र ३१ गते वडा नम्बर १० मा शिविर सञ्चालन हुने तालिका रहेको छ।
स्थानीयवासीले यो शिविरबाट आँखा जाँच तथा आवश्यक परामर्श प्राप्त गर्नुका साथै निःशुल्क उपचारको अवसर पाएका छन्। धनगढी नेत्रालयको प्राविधिक टोलीले शिविरमा सहभागी बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।