काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) का कप्तान रजत पाटीदारलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जरीवाना गरेको छ । सोमवार राति वनखेडे स्टेडियममा मुम्बई इन्डियन्ससँगको खेलमा ‘स्लो ओभर रेट’ का लागि बीसीसीआईले पाटीदारलाई जरीवाना गरेको हो ।
यो खेल बेङ्गलुरुले १२ रनले जितेको थियो । बेङ्गलुरुले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रनमात्र बनाउन सक्यो । यो जीतसँगै बेङ्गलुरु ४ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा २ अङ्कसहित आठौं स्थानमा छ ।
आईपीएलको १८ औं संस्करणमा ‘स्लो ओभर रेट’ का लागि जरीवाना गरिएको यो चौथो पटक हो । यसअघि मुम्बईका कप्तान हार्दिक पान्ड्या, राजस्थान रोयल्सका कप्तान रियान पराग र लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्त यो जरीवानामा परिसकेका छन् ।