कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजारमा रहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो २७ औँ वार्षिकोत्सव मङ्गलवार धूमधामसँग मनाएको छ।
यो अवसरमा भीमदत्त नगरपालिका-१८ सालघारीस्थित महाकाली मन्दिरमा सरसफाइ कार्यक्रम र स्वास्थ्यसम्बन्धी जनचेतना सत्र आयोजना गरियो। कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर प्रशान्त भट्टले हालको खानपान र स्वास्थ्य प्रभावबारे जानकारी दिए। उनले अस्वस्थ खानपानले क्यान्सर रोग बढिरहेको उल्लेख गर्दै विषादीरहित अर्गानिक खाना खान सल्लाह दिए। डा. भट्टले भने, “हाम्रो खानामा विषादी धेरै हुने भएकाले सचेत हुन आवश्यक छ। के खाने, कति खाने, कसरी खाने भन्ने ज्ञान नहुँदा क्यान्सरका बिरामी दिनप्रतिदिन बढिरहेका छन्। स्वस्थ रहन स्वस्थ खानपान आवश्यक छ।”
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको स्थापना माघ २३ गते भएको थियो। सोही अवसर पारेर महेन्द्रनगर शाखाले सरसफाइ र स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरेको शाखा व्यवस्थापक भूपेन्द्र देव भट्टले जानकारी गराए। सरसफाइ कार्यक्रममा सिद्धार्थ बिजनेस ग्रुपका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।