कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी स्थित सरस्वती माविमा छात्रवृत्ति देखि औषधी खरिद प्रकरण छानबिन गर्न माग अघि सारेको छ । माओवादी केन्द्र कृष्णपुर २ नम्बर वडा कमिटीले सरस्वती माविमा छात्रवृत्ति देखि औषधी खरिद प्रकरण छानबिन गर्न माग अघि सारेको हो ।
विद्यालयमा दलित छात्रबृतिदेखि सिटिईभिटीको औषधी खरिदमा भएको अनियमितताको विषयमा सामाजिक सञ्जालमा आएका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छात्रवृत्ति वितरण र औषधी खरिद प्रकरणमा छानबिन गरेर दोषी उपर कारबाहीको माग अघि सारिएको छ ।
दलित छात्रा रेनुका सुनारले पाउनुपर्ने अपाङ्गता छात्रवृत्ति दुरुपयोग, सिटिभिटीका शिक्षक शिक्षिकाको योग्यता नियुक्त, औषधी खरिदमा बाहिर आएका विषयमा सरोकारवाला निकायले छानबिन गरेर दोषी उपर कारबाहीको माग अघि सारेको छ ।
सिटिभिटीकी शिक्षिका आस्था जैसीले केही मिडियामा दिएको अन्तरवार्तामा विद्यालयको विषयमा पाटीको नाम जोडेर दिएको अन्तरवार्ता तथ्यहीन आरोपको निन्दा गरिएको छ ।
माओवादी केन्द्र कृष्णपुर २का वडाध्यक्ष छंगा राना र सचिव लिलादेवी पन्तले हस्ताक्षर गरेको विज्ञप्तिमा विद्यालयमा भएको छात्रवृत्ति वितरणदेखि औषधी खरिद प्रकरणमा माओवादी पाटी जोडेर आफ्ना भ्रष्टाचार लुकाउने कार्य बन्द गर्न समेत आग्रह गर्दै पाटी विरुद्धका गतिविधि रोक्न चेतावनी दिएको छ ।