मुटुको ढुकढुकी चल्दासम्म
अनेक बाधा, आाँधीहुरी पन्छ्याइ
तिखा काँडा, नमिठा वचन सब भुलाई
खोला बहे झैँ बहनु छ रे उसलाई !
विषालु हावाले छातीमा हाने सरी
जाताले पिसेसरि पिस्छन् ।
व्यक्ति अनि व्यक्तित्व
ढुङ्गाले बेसरी किचे सरी
किच्न खोज्छन् रे अस्तित्व !
बन्न खोज्छन् तिनै
ऋषिमुनि सन्त आफैं
हातमा सलाई बोक्छन् तिनै
मनमा अग्नि अनि जहर पाल्ने आफैं !
निराशाहरूबिच आशा जगाई
उदासिनताको कुभाषा भगाई
उज्यालो छर्ने सूर्यको पर्खाइमा
गलेका पाउ गन्तव्य उचाइमा
हिँडिरहेको एउटा यात्री !
पथका काँडे तार उछिन्दै
यात्रा छ अविच्छिन्न जारी
पुग्नु छ रे त्यो क्षितिज पारि
थाके पनि गलेपनि नरोकिने यात्रा
जस्तै चुनौती आए पनि फाँड्दै सिस्नेघारी !
कलकल गर्दै बग्ने सरिज्जल
धर्ती पाउ ,शिरमा हिमाल
निश्चल भाव ,बिचार अटल
त्यही मन भुलोस् , जहाँ छ शीतल !
सामुन्ने पर्दा शिर बङ्ग्याई
पछिल्तिरबाट धारेहात तेर्स्याई
मै ठूलो ,महान् आफै मपाई
घातक व्यवहार, क्रोधको बास जहाँ
भीषण सुनामी , डरलाग्दो पर्खाल त्यहाँ !
आउन् अगि प्रतिकुल कालै बनेर
प्रतिशोधको भावना बोकेर
बर्षुन रे ऊ माथि बैरी नै भएर
हार्दैन्, झुक्दैन ऊ
अजङ्गका पहाड फोरेर
अँधेरा , साँघुरा, डाँडा, भीर चट्टान तोडेर
जीवनका अनगिन्ती उकाला छिचोलेर
ऊ जित्न हिँडेको यात्री !
रञ्जना लम्साल थापा
काठमाण्डौं









Discussion about this post