माटोले निर्मित यी कच्ची घरहरूलाई भत्किन देऊ
अमूल्य सपनाका पुष्पहरूले सिँचिएका बगैँचालाई बन्जर नै रहन देऊ
चुचुरोको सौर्य शिखरमा पुग्ने चाहनालाई भीडमै नष्ट हुन देऊ
दुनियाँमा आफ्नो स्वरलाई छर्रिन खोज्ने आत्मालाई आफ्नै आवाज पनि नचिन्न देऊ
क्षितिजको छातीमा चम्किरहेको प्रकाशलाई क्षणभरमै विलीन हुन देऊ
दिनको सेतो आकाशमा देखिएका कालो बादलको दागलाई अँध्यारोसँगै लोप हुन देऊ
तीव्र बगिरहेको नदीलाई सारा आत्मविश्वासको तरङ्ग आफै सँग बगाउन देऊ
रातीको निस्तब्ध आकाशमा ताराहरूको मद्धिम प्रकाशलाई निभ्न देऊ
भोलि सपना साकार पार्ने अदम्य सङ्कल्प र दृढ अठोटलाई रगतमा समाहित हुन देऊ
उज्यालो भविष्य बोकी ल्याउने नयाँ दिनको आभा उजागर हुन देऊ
हार भोगेका जिन्दगीका यी बाजीहरूमा
जित सुनिश्चित गर्ने स्वर्णिम बिहानीको आशाको किरणलाई आकाशमा उदाउन देऊ
स्वर्णिम बिहानीको आशाको किरणलाई आकाशमा उदाउन देऊ
भुवन सिंह बिष्ट
दशरथचन्द नगरपालिका १०, बैतडी









Discussion about this post