रञ्जना लम्साल थापा, काठमाण्डौ । वास्तवमा भन्नुपर्दा देशको प्रधानमन्त्री यस्तो हुनुपर्छ है! यो देशलाई अग्रगति प्रदान गरी विकासको मूल फुटाउने अग्रगामी सोच निर्माण गरी राष्ट्रका निम्ति सकारात्मक सोच बनाएर कार्यरूपमा ढाल्ने अथक प्रयास गर्नुपर्छ। जहाँ रोग, भोक र शोक छ त्यस ठाउँमा आँखा पुग्नुपर्छ।
समस्याहरू जहाँ छन् त्यहाँ समाधान खोज्नुपर्छ । ज्यानमारा, अपराधी र भ्रष्टाचार गर्नेलाई सिधै फाँसीमा झुन्ड्याउन सक्ने सबल कानुन बनाउनुपर्छ। आफूलाई स्वतन्त्र राष्ट्रका रूपमा चिनाउँदै आएको हाम्रो देशलाई प्रकृतिले अनेकौं वैभव प्रदान गरेको छ। प्रकृतिका अनेक सौन्दर्यका छटाहरूले सिँगारिएको हाम्री नेपाल साँच्चिकै सुन्दर छ। यिनै प्राकृतिक सम्पदाहरूको सही ढंगले सदुपयोग गरी राष्ट्रको उन्नति र प्रगतिका निम्ति तन मन र वचनले लाग्नुपर्छ। नेपालमा अथाह सम्भावना को खानी छ ।
देश हाँक्ने चालकले देशमा भएका साधन र स्रोतलाई बढीभन्दा बढी प्रयोगमा ल्याइ युवा स्वरोजगारको व्यवस्था गर्न सक्नु पर्दछ। अहिले देखिएको जल्दोबल्दो समस्या बेरोजगारी हटाउन कम्मर कसेर लाग्नुपर्ने देखिन्छ। शिक्षित बेरोजगारले जकडिएको नेपालमा युवा स्वरोजगारको व्यवस्थाका लागि पहल गर्नुपर्दछ । नेपाल एउटा कृषि प्रधान देश हो। नेपालको कूल क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर मध्ये हिमाली क्षेत्रले १५ प्रतिशत, पहाडी क्षेत्रले ६८ प्रतिशत र तराईले १७ प्रतिशत जमिन ओगटेको छ, नेपालको कूल भूभागको आधा भूभाग जसो जमिन खेतीका लागि योग्य रहेको कुरा तथ्याङ्कले देखाएको छ।
कृषिमा क्रान्ति ल्याउनु आजको आवश्यकता हो। यस्तो उर्वर भूमि र कृषिका माध्यमबाट नेपालमा रोजगारीको व्यवस्था गर्नुपर्दछ। वर्षेनी हजारौँको सङ्ख्यामा विदेश पलायन भएका दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्था युवा जागरण ल्याउनु पनि आजको आवश्यकता हो। युवा वर्गलाई आफ्नै देशमा रोजगारीको व्यवस्था मिलाउने वातावरण सृजना गर्नुपर्दछ। सीपमुलक तथा प्राविधिक शिक्षा प्रणालीको व्यवस्था गरी शिक्षा र कामको सम्बन्ध जोड्न सक्नु पर्दछ।
नेपालमा पर्याप्त मात्रामा रहेको जलसम्पदाबाट करिब एक लाख मेगावाट बिजुली उत्पादन गर्न सकिने क्षमता छ तथापि हामीसँग यत्रो सम्भावना हुँदा हुँदै पनि आज नेपालीहरू बत्तीमुनिको अँध्यारो भोग्न विवश छन्, अझै पनि सम्पूर्ण सहरी क्षेत्र र अधिकांश गाउँहरू लोडसेडिङको चपेटामा परेका छन्। नेपालमा ऊर्जाका वैकल्पिक स्रोतहरू धेरै छन्। ती स्रोतहरूको पहिचान गर्न नसक्दा देशमा अहिले उर्जाको सङ्कट बढ्दै गएको देखिन्छ। जनसंख्या वृद्धि, बढ्दो सहरीकरण र मानवीय जीवनमा भित्रिएको आधुनिकताले दिनदिनै थप उर्जाको माग बडिरहेको अवस्थामा ऊर्जामा आत्मनिर्भर मुलुक स्थापना गर्ने कार्यमा विशेष पहल हुनुपर्ने देखिन्छ। राष्ट्रको हित भए मात्र जनताको हित स्वत: हुने भएकाले यस कुरालाई हृदयङ्गम गरी देश र जनताको सेवामा एउटा सेवक भएर बाँच्नु पर्दछ ।
भ्रष्टाचारको दलदलमा फसेको नेपाललाई यसबाट मुक्त गरी सुन्दर र समुन्नत पार्न आवश्यक कदम चाल्नु जरुरी छ। शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार आदिको पूर्ण व्यवस्था गरी देसलाई माथि उकास्न प्रशंसनीय कार्य गर्नु पर्ने देखिन्छ। देशको सबै क्षेत्रमा समान विकास गरी समतामूलक समाज निर्माणको लागि कर्तव्यनिष्ठ भइ लाग्नुपर्दछ। सम्पूर्ण नेपालीमा एकताको भाव सिर्जना गरी देश निर्माणमा जुट्न सचेतनाको काम गर्नुपर्दछ ।
देशको कुनै पनि भूगोलमा बसेका मानिसहरूले भोको पेट र आँखाबाट आँशु झारेर बाँच्न नपरोस् र देश कँही कतै पनि नदुखोस् भन्ने भावना जागृत गराइ मनभित्र देशभक्तिको दियो बाल्दै चौतर्फी र दिगो विकासका लागि सोच्नु पर्ने देखिन्छ। देश विकासका लागि विकासका पूर्वाधारहरू समुन्नत हुन जरुरी छ। नेपालका भूप्राकृतिक अवस्था तथा धार्मिक, सांस्कृतिक सम्पदाले गर्दा पर्यटन व्यवसायले पनि विशेष महत्व राख्दछ। पर्यटकहरूको मनोरञ्जन तथा ज्ञानको क्षेत्र विस्तार गर्ने प्रशस्त स्थानहरू भएकाले त्यसका लागि आवश्यक सुविधाका बारेमा पनि सोच्नुपर्ने हुन्छ किनकि बाह्य पर्यटकको प्रवेश उच्च भएको खण्डमा प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिने भएकाले यस विषयमा पनि विशेष चासो राख्नु पर्ने देखिन्छ। व्यक्ति ,समाज र राष्ट्रको उन्नतिका लागि मनमा भक्ति र शरीरमा शक्ति भए देश पक्कै उकालो लाग्नेछ। देसलाई विकासको मार्गमा डोर्याइ नयाँ आयाम थप्न एउटा नेता-प्रधानमन्त्री सदैव सकारात्मक पाइला चाल्नुपर्ने हुन्छ।
(“असम्भव भन्ने कुरा मूर्खहरूको शब्दकोशमा मात्र हुन्छ” भन्ने नेपोलियन बोनापार्टको भनाइप्रति सहमति जनाउँदै रञ्जना लम्साल थापाले लेखेको लेख।)









Discussion about this post