सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोधारा चाँदनीमा सीमा सुरक्षाका सवालमा सरोकारवालासित छलफल

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका सीमा सुरक्षासंग सम्बन्धित सवालमा सरोकारवालासित छलफल गरिएको छ । जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय सहितको सहभागितामा कार्यक्रम गरिएको छ ।

बढीमालिका समाज विकास नेपालले गरेको कार्यक्रममा सहभागीले सीमा समस्याले बर्सेनी विवाद देखिएको सरकारले गम्भीर भएर समाधान खोज्नु पर्नेमा जोड दिए ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकारले पहल गर्दै आएको उल्लेख गर्दै संघ सरकारले गम्भीर भएर लाग्नु पर्नेमा जोड दिए ।

World Link Ads
Mahakali Polytechnic

‘यो विषय स्थानीय सरकारको क्षेत्रभित्र त पर्दैन, तर पनि समस्या समाधान गर्न हामी जनप्रतिनिधि सधै लागि रहेका छौ, संघ सरकारले सीमा समस्यालाई गम्भीर रुपमा लिएर हल गर्न आवश्यक छ’ उनले भने,‘स्थानीय सरकार यसका लागि सधैं साथ सहयोग गर्न तयार छ ।’

मेयर लिम्बुले अव्यस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउन स्थानीयले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाका लागि केही क्षेत्रमा दशगजा छुट्याउनु पर्ने अवस्था आएको बताए ।

‘स्थानीयले वर्षौदेखि जमिन खनजोत गर्दै आएका छन्, भोगचलन गर्दै आएका छन्, त्यसका लागि स्थानीय मसित आए, त्यसपछि दशगजा छुट्याउनु पर्ने भयो’ मेयर लिम्बुले भने ।

दोधारा चाँदनीको १८ नम्बर पिल्लर वस्ती, कुतियावकर, सुन्दरनगर र कञ्चनभोज लगायतका वस्तीका वासिन्दाले दशगजा छुटयाउनु माग गर्दै आएको उनले बताए ।

सीमा क्षेत्रमा आवतजावतलाई व्यवस्थित गर्न आफूले सुरक्षा निकायको बैठकमा भारतीय नागरिकको इन्ट्री गर्ने कार्यका लागि प्राथमिकताका साथ उठाएको बताए ।

 

‘भारतबाट दोधारा चाँदनी आउने सबैको इन्ट्री गर्नका लागि सुरक्षा निकायका बैठकमा कुरा गरेको छु, यसो गर्दा भारतबाट को आए, कस्ता सवारी साधन आए, भन्ने थाह हुन्छ’ उनले भने,‘लुटपाट, चोरी, कुटपिट लगायतका केही अपराधिक घट्ना भए पनि कारवाही गर्न पनि सजिलो हुन्छ ।’

दोधारा चाँदनी नगरपालिका ८ का अध्यक्ष ओमप्रकाश रोकायाले सशस्त्र प्रहरी र भारतीय एसएसबी दुबैले सुन्दरनगरमा डोरी बाँधेर विवाद भएपछि मात्रै आफूले थाहा पाएको बताए ।

Sana Kishan

‘सुन्दरनगर, त्यस नजिक कुतियावर छ, अस्ति सुन्दरनगरमा विवाद भयो, अन्य ठाउँमा पनि विवाद छन्, एपीएफ र एसएसबीले रसी हालेर दशगजा छुट्याए,म लाई थाह छैन, विवाद आयो’ उनले भने,‘विवाद आएपछि मात्रै मलाई थाहा भयो, मैले कुरा गर्दा जुन हिसाबले किला हालिएको थियो, त्यो कुरा दिल्ली पुग्यो भनियो, जसरी किला गाडिएको छ, त्यो हटाइनु पर्छ, चलनभोग छ, त्यस अर्थमा पनि दशगजा भनेर किला गाड्न हुँदैन थियो ।’

दोधारा चाँदनी नगरपालिकाका ८ को १६ र १७ नम्बर सीमा स्तम्भको बिचको क्षेत्रमा सधैं विवाद भई रहने अध्यक्ष रोकायाले बताए । ‘यो क्षेत्र कुतियाकवर र सुन्दरनगर पर्छ, १७ र १८ मा कुनै विवाद छैन’ उनले भने,‘त्यस कारण बारम्बार समस्या नआउने गरी यो समस्याको हल खोजिनु पर्छ, त्यसका लागि दुबै देशको जोइन्ट टीम बनाएर सरकार लाग्नु पर्छ ।’

स्थानीय रोहित बमले भारतीय एसएसबीले जिपिएस पोइन्ट भन्दै नेपाली वस्ती र भोगचलन गरिएका जग्गामा मात्रै विवाद झिक्दै आएको बताए ।

‘दुई साल अघि खेतमा सहायक पिलर हालियो, जिपिएस पोइन्ट भन्दैै जिद्दी गरेर हाले’ उनले भने,‘हाम्रो सीमा निक्यौल नगरी यसरी कुनै पिल्लर राख्न दिन हुँदैन, उनीहरु त जमिन बनाएको ठाउँमा मात्रै विवाद गर्छन्, भोगचलन नभएको ठाउँमा विवाद गरेका छैनन् ।’

समाजसेवी भुवन विहारी पन्तले दोधारा चाँदनीमा छोटी भन्सार पुनःस्थापना र लागु औषध नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीय सरकार दुबैले गम्भीर हुनु पर्ने बताए ।

‘अहिले लागु औषधको निकै ठूलो समस्या छ, यसतर्फ ध्यान जानु जरुरी छ’ उनले भने,‘आफ्नो जमिन बाँझो राखेर आलु किन्न पनि भारत जाने प्रवृतिको अन्त्य हुनु पर्छ, भारत नभएर बाँच्नै सक्दैनौ भन्ने मानसिक हटाउन तयार हुनु पर्छ ।’

कञ्चनपुरको ब्रह्मदेबदेखि डोके बजारसम्मको १ सय २९ किलोमिटर सीमा क्षेत्र भारतसित जोडिएको छ । यस क्षेत्रका सशस्त्र प्रहरीका १७ बिओपी छन् । दोधारा चाँदनीको ३० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीका ५ बिओपी छन् । अहिले सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा सशस्त्रको गुल्म पनि राखिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक भुवन सिह केसीले सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी अनुसार सीमा सुरक्षा, अपराध, तस्करी नियन्त्रणका लागि काम गर्दै आएको उल्लेख गर्दै इमान्दार भएर काम गर्दै आएको बताए ।

बढीमालिका समाज विकास नेपालले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा गरेको कार्यक्रममा दोधारा चाँदनी नगरपालिका प्रवक्ता ओम वस्नेत, वडा नं. १ का अध्यक्ष बिक्रम बहादुर चन्द, २ का अध्यक्ष पदम सिह रावल, ३ का अध्यक्ष हरि सिह धनाडी, ४ का अध्यक्ष भक्त बहादुर सुनार, ५ का अध्यक्ष केशव बहादुर खत्री, ८ का अध्यक्ष ओमप्रकाश रोकाया, कार्यपालिका सदस्यहरु बिन्दु महर, मानमति भट्ट, वडा सदस्यहरु कृष्णराज भट्ट, लोकेन्द्र चन्द लगायतका सहभागी भएका छन् ।

समाजका अध्यक्ष पदम बहादुर सिहको अध्यक्षतामा र मेयर किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

समाजका अध्यक्ष सिहले सीमा क्षेत्रमा देखिएका समस्या सम्बन्धी छलफल गरी न्यूनीकरणका लागि पहल गर्न कार्यक्रम गरिएको बताए । समाजका सचिव सुरेश कोलीले कार्यक्रम सञ्चालन गरेका थिए । विकल्प दैनिक बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.