सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तीतो खानेकुराले उच्च रक्तचाप निको हुन्छ ?

उच्च रक्तचापलाई चिकित्सकीय भाषामा ‘हाइपरटेन्सन’ भनिन्छ । यसको अर्थ हुन्छ, मुटु र रक्तनलीहरुमा दबाब बढ्नु । विना लक्षण पनि सुस्त गतिमा यसले शरीरलाई गलाउँदै लैजान सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’को समेत संज्ञा दिएको छ ।

उच्च रक्तचापलाई गम्भीरतापूर्वक नलिंदा शरीरलाई धेरै किसिमले हानि पु¥याउन सक्छ । खराब जीवनशैली, तनाव, गलत खानपान, आनुवंशिक कारण, कम पानी पिउनु, कोलेस्टेरोल, तनाव, मिर्गौला र कलेजोको काम सामान्य नहुनु, कम निद्रा उच्च रक्तचापका कारक हुन् । अहिले अधिकांश व्यक्ति उच्च रक्तचापबाट पीडित छन् ।

धेरैले तीतो भएको खानेकुरा खाँदा उच्च रक्तचाप नियन्त्रणका लागि मद्दत पुग्छ भनेर तीतेकरेला, घिउकुमारी, चिराइतोलगायत खानेकुरा खाने गरेको पाइन्छ । यस्ता तीता खानेकुरा खाँदा वास्तवमै रक्तचाप नियन्त्रणमा सहयोग गर्छ त ? यसै विषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव विष्टसँगको गरिएको कुराकानी ः

World Link Ads
Mahakali Polytechnic

प्रायः गाउँघरतिर उच्च रक्तचाप बढ्यो भने तीतो खानेकुरा खानुपर्छ भनिन्छ । यसले रक्तचाप नियन्त्रण हुन्छ ?

तीतो खानेकुराले उच्च रक्तचाप नियन्त्रण गर्न केही मात्रामा सहयोग गर्छ । यद्यपि तीतो खानेकुराले केही क्षणको लागि मात्रै काम गर्छ । त्यसैले रक्तचापका बिरामीलाई औषधिले जस्तो २४ घण्टा रक्तचापलाई नियन्त्रण गरेर राख्न सक्दैन ।

तीतेपाती, चिराइतो, ग्रीन टी, करेला आदिमा अत्यधिक तीतोपन हुन्छ । तीतो खानेकुरामा पोटासियम र म्याग्नेसियम हुन्छ । पोटासियमले शरीरमा भएको सोडियमलाई पानीको माध्यमबाट पिसाब बनेर बाहिर निकाल्छ । शरीरमा रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । जसको असर केही समयको लागि मात्र हुन्छ । त्यस्तै, म्याग्नेसियमले रगतको नसालाई लचिलो र फराकिलो बनाउँछ र चाप कम गराउँछ । तर खानुअघि चिकित्सकको सल्लाह भने लिनुपर्छ ।

न्यून रक्तचाप भएकाले तीतो खानेकुरा खाँदा रक्तचाप थप घट्छ भन्ने बुझाइ चाहिं कति सत्य हो ?

यसमा सत्यता छ । तीतो खानेकुरामा पाइने म्याग्नेसियमले रक्तचापलाई न्यून बनाउने गर्छ तर न्युन रक्तचाप भएकालाई खाँदै नखानु भनिएको छैन । जुनकुरा पनि अत्यधिक मात्रामा खान हुँदैन । त्यस्तै, तीतो खानेकुरा सीमित मात्रामा न्यून रक्तचाप भएकाले पनि खान सक्छन् ।

Sana Kishan

तीतो खानेकुराले फाइदा गर्छ भन्दै दैनिक अत्यधिक मात्रामा यस्ता कुरा मात्र खान थालियो भने त्यसमा हुने म्याग्नेसियम र पोटासियमको उच्च मात्राले रक्तचाप स्वाट्टै घटाएर स्वास्थ्यमा जटिलता ल्याउन सक्छ । यस्ता खानेकुरालाई दैनिकी बनाउनुअघि चिकित्सकको परामर्श लिनु पर्छ । धेरै त तीतेकरेला, घिउकुमारी खाएर नै रक्तचाप घटाउँछु भन्दै चिकित्सकले खानु भनेका औषधि पनि नखाएर झनै स्वास्थ्य बिग्रिएको केस पनि धेरै नै देख्न सकिन्छ । रक्तचाप नियन्त्रणका लागि औषधि नलिनेहरुमा हृदयघात, मिर्गौला फेल, टाउकोको नसा फुट्ने जोखिम अत्यधिक हुन्छ ।

रक्तचापको औषधि र तीतो खानेकुराबीच कुनै समानता हुन्छ ?

रक्तचापको औषधि र तीतो खानेकुराबीच केही मात्रामा समानता छ । दुवै रक्तचापलाई कम गर्न सहायक मानिन्छ । तर तीतो खानेकुराले नै स्वतः रक्तचाप सन्तुलन भने गर्न सक्दैन ।

उच्च रक्तचाप भएकाले कस्तो खानेकुरा खानु राम्रो हुन्छ ?

पोटासियमले सोडियमको प्रभावलाई कम गर्ने हुँदा पोटासियमयुक्त फलफूल, सागसब्जी बढी खानुपर्छ । दूध, दही र मोहीमा क्याल्सियम हुन्छ जसले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । नुनलाई चटक्कै छाड्न हुँदैन । धेरैले उच्च रक्तचाप भएपछि नुन नै नहाली सागसब्जी खाने गरेका हुन्छन्, जुन गलत हो । उच्च रक्तचाप भएकाहरुमा पनि नुन आवश्यक हुने भएकाले नुन खानुपर्छ तर यसको मात्रा घटाउनुपर्छ ।

उच्च रक्तचापका लक्षणहरु के के हुन् ?

उच्च रक्तचाप भएकामध्ये केहीमा कुनै पनि लक्षण नदेखिन सक्छ । टाउको दुख्ने, नाकबाट रगत बग्ने, छातीमा दबाब अनुभव हुने, मन बेचैन हुने, रिंगटा, वाकवाकी लाग्ने, अनिद्रा वा थकान हुने, श्वास फुल्ने, छाती भारी हुनेजस्ता लक्षण देखिन सक्छ । यीमध्ये कुनैपनि लक्षण परेमा प्रेसर जाँच गराउनुपर्छ । जाँचमा सिस्टोलिक १२० र डाइस्टोलिक ८० भन्दा बढी छ भने रक्तचाप बढेको मान्ने गरिन्छ ।

रक्तचापलाई सन्तुलनमा राख्ने उपाय छ ?

चिकित्सकले औषधि खान सुझाएका छन् भने त्यो नियमित रुपमा खानुपर्छ । मद्यपान र धुम्रपानबाट टाढा रहने, कफीको सेवन कम गर्ने, रिस नियन्त्रण गर्ने, योग र ध्यानलाई दैनिकीमा समावेश गर्ने, व्यस्त रहने, हिंडडुल गर्ने, तनावलाई आफूमा हाबी हुन नदिने र खानेकुरा नियमित तालिका बनाएर ठिक्क मात्रामा खाने गर्दा रक्तचाप नियन्त्रणमा ल्याउन सकिन्छ । मनिषा थापाले अनलाइनखबरमा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.