
मलाई श्रद्धाञ्जली नदिनू
चाहिदैन तिम्रो समवेदना पनि
म मरेको होईन
मुक्त भएको हूँ
तिम्रो आतङ्कबाट, अत्याचारबाट
शोषणबाट, ठगीबाट, करबाट
मानवीयता देखाएनौ
सहानुभूति देखाएनौ
बाँचुञ्जेल तिमीले
मरेपछिका ती तिम्रा
समवेदनाहरूले, श्रद्धाञ्जलीहरूले
जलाउछ यो मन
जुन
मेरो शरीरमा दन्किएको
आगोले जलाउन सकेन
भो अब अति भो
मलाई श्रद्धाञ्जली नदिनू

श्वेत आतङ्क जारी छ
तिम्रो राज्यमा
ब्रह्मलुट जारी छ
जागीर देऊ, आफन्तलाई
ठेक्का देऊ, दलाललाई
संरक्षण गर, भ्रष्टहरूलाई
काखमै बसाल, बदमासहरू
बैंकहरू जिम्मा लगाऊ, ब्यापारीलाई
भाषण गर, समृद्धि र विकासका
ताली पड्काउछन, दासहरू
गरि खानेलाई बस्न नदिनू
यो देशमा
एक्काइसौं शताब्दीमा पनि
स्वदेसमै बस्नु, बस्न चाहनु
अपराध हो
मैले त्यही अपराध गरे
सरकार!
मलाई मृत्युदण्ड देऊ
सजाय देऊ तयार छु
तर
मलाई श्रद्धाञ्जली नदिनू

मेरै मृत्युको समाचारले
कतिको चुल्हो जल्दैछ
कतिको रोजगारी चल्दैछ
कतिको भाषण थर्किदै छ
कतिको ब्यापार बढ्दै छ
होस, जे सुकै होस
जल्न दिनू, चल्न दिनू
बाँच्न त दिएनौ
मलाई मेरै देशमा मर्न दिनू
तर
बिन्ती छ
तिमीले मलाई
श्रद्धाञ्जली नदिनू
तिम्रो श्रद्धाञ्जली पनि दुख्छ
मलाई श्रद्धाञ्जली नदिनू!
