
कञ्चनपुरः कञ्चनपुरमा २८औँ राष्ट्रिय कण्डम दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ। ‘दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौँ’ भन्ने मुल नाराका साथ शनिबार महेन्द्रनगरस्थित बसपार्कमा दिवस मनाइएको हो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), नेपाल परिवार नियोजन संघ, सहयात्रा नेपाल, नव आशा, भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको सहयोगमा स्वास्थ्य कार्यालय कञ्चनपुरद्वारा दिवसको आयोजना गरिएको हो।

कार्यक्रममा एनएनएसडब्ल्यूएद्वारा सञ्चालित ‘एचआईभी÷टीबी–माइग्रेन्ट्स एण्ड दियर स्पाउज’ परियोजनाकी संयोजक आरती सुनारले एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने बताइन्। उनले कण्डम प्रयोगका फाइदा र प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लागयतका विषयमा सर्वसाधारणलाई जनचेतना फैलाउने उद्देश्यले दिवसको आयोजना गरिएको बताइन्।

दिवसको अवसरमा यौन रोगका बारेमा जनचेतना फैलाउनुका साथै पैदल यात्री, रिक्सा, अटो, बस, तथा मिनि बसका यात्रुहरू, चालकहरू र सहचालकलाई २५ हजार थान कण्डम निःशुल्क रूपमा वितरण गरिएको थियो।
त्यसैगरि कण्डम फुलाउने प्रतियोगिताको आयोजना गरिएको थियो भने, विजेतालाई पुरूस्कार समेत प्रदान गरिएको थियो। दिवसको अवसरमा बसपार्कभित्र कण्डम बक्स पनि राखिएको छ। दिनेश खबर बाट सभार
