
आमाको बलिदान
छोरी तिमी आगो हौ
तिमीले आफैँ पकाउनु छ
जिन्दगीको स्वादिष्ट पकवान
सुखलाई राम्ररी पाक्न दिनु
दुःखलाई बेस्सरी डढाइदिनु
बेला बेला आउने छ
संस्कृतिको भयानक हावा – हुरी
उसले तिमीलाई बनाइदिने छ डढेलो
तर तिमी नआत्तिनु
बरु राख पारिदिनु अन्धविश्वासको जंगल
हुनेछ कुरितीको अविरल वर्षा
उसले तिमीलाई निभाउन सक्दो कोसिस गर्नेछ
तर तिमी नआत्तिनु
बरु धुवाँ बनेरै आकाश छुने चेष्टा राख्नु
म त फगत एक प्लास्टिकको पाइप न हुँ
तिमीलाई फुकिरहनेछु आफू नगलुञ्जेल !

● प्रचण्ड भाष्कर
