कञ्चनपुर – वेदकोट नगरपालिका वडा नम्बर ९ र व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, महेन्द्रनगरको संयुक्त सहकार्यमा स्थानीय बासिन्दाहरूका लागि निःशुल्क ३ महिने सिलाई तालिम सञ्चालन हुने भएको छ। यो तालिमको मुख्य उद्देश्य स्थानीयहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनु रहेको छ।
वडा कार्यालयले तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई चैत २० गतेभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न अनुरोध गरेको छ। आवेदनका लागि नेपाली नागरिकता प्रमाणपत्रको फोटोप्रति १ थान र न्यूनतम शैक्षिक योग्यता उत्तीर्ण प्रमाणपत्रको फोटोप्रति १ थान अनिवार्य रूपमा बुझाउनुपर्नेछ। तालिममा सहभागी हुन उम्मेदवारले कम्तीमा कक्षा ८ पास गरेको हुनुपर्ने र उमेर १६ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ।
यो तालिममा जम्मा २० जनाले मात्र सहभागिता जनाउन सक्नेछन्। सम्पर्क मिति चैत २१ गतेसम्म तोकिएको छ। वडा अध्यक्ष जनक बहादुर विष्टले यो तालिम विशेष गरी महिलाहरूलाई आत्मनिर्भर बनाउन केन्द्रित रहेको बताए। “यो तालिमले प्रशिक्षार्थीहरूलाई सीप सिक्ने र स्वरोजगार बन्ने अवसर प्रदान गर्नेछ। विशेष गरी महिलाहरू र आर्थिक रूपमा कमजोर वर्गका लागि यो महत्त्वपूर्ण अवसर हो,” उनले भने।
तालिम सम्बन्धी थप जानकारीका लागि वडा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। यो पहलले स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्न र सीप विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।










Discussion about this post