कहिलेकाहीँ साथीभाइसित बोल्दा
उनीहरूले गरेका कुराहरू गलत भए,
साथी तिमी गलत गरिराछौँ,
त्यसो नगर, भन्ने मन लाग्छ
तर, कतै रिसाएर मबाट टाढा पो हुन्छ कि भन्ने डर लाग्छ
पढाइ गर्न अब गाउँबाट सहर जानुपर्ने भो
जहाँ, शिक्षक नयाँ, साथी नयाँ,
सबै थोक नयाँ
यी नयाँ सम्बन्ध त गाँसीहाल्नेछु
तर, यहीँबाट बाआमासित परपर जाने क्रम चल्यो कि भन्ने डर छ
यस्तै समयसँगै अनजान व्यक्ति र अपरिचित परिवारसित
एउटा अझै नयाँ सम्बन्ध बन्ने छ
नयाँ परिवारमा समायोजन त भइहाल्ला
तर आफ्ना बाँकी जीवनका क्षणहरू बिताउँदै गर्दा
आफ्नो परिवार, पुरानो बस्ती भुलाउँदै जाने पो हुँ कि भन्ने डर छ
भोलि, सन्तान, पढ्न जाला,
जागिरे होला र अन्त कतै
जागिर गरी घर बसाउला
यसक्रममा, आफ्नो संसारमा रमाउन
मबाट छुट्टिने हो कि भन्ने डर छ
जीवनमा आउने अनेकन समस्याको डर हावी हुन सकेन ममा
तर, आफन्तबाट टाढा हुने डर सधैँ मनमा लागिरहन्छ।
राधिका जोशी









Discussion about this post