कहिले बाढी त कहिले आँधी
विनासकारी भूकम्प त
कहिले महामारीको चपेटामा
कहिले शेर बनी देश लुट्ने
लुटेराहरुको आतङ्कमा
पिडैपिडाको घाउ बोकेर
हिँडेको छ मेरो देश
कठै! मेरो देश मौन छ
बोलोस् पनि कसरी ?
आफ्नै सन्तान राष्ट्रघाती
पूर्व पश्चिम सिमाना मिचिए
प्राकृतिक सम्पदा सब नासिए
नदीनालादेखि वन कुञ्ज फाट
उद्योगधन्दा देखि कलकारखाना सब बेचिए
कठै! मेरो देश बोलोस् पनि कसरी?
सन्तान थरिथरि !
न्यायतन्त्र अपहरणमा परेको देश
भ्रष्टाचार मौलाउँदै गएको देश
कठै! मेरो देश बोलोस् पनि कसरी ?
न नैतिकता छ;न स्वाभिमान
राष्ट्रियता त केबल
नागरिकता मात्र सिमित भए ।
रोजगारका मुहानहरु सबै बन्द भए
युवाशक्तिहरु पलाएन भए
रोग, भोग ,शोक जताततै
सामन्तवाद जसाकोतसै
मुटुमाथि ढुंगा बोकेर
बाँचेको छ मेरो देश
हातगोडा भाचिए झै
आज लङ्गडो बनेको छ,
कठै! मेरो देश
बोलोस् पनि कसरी?
आफ्नै सन्तान भ्रष्टचारी
काण्डैकाण्डको थुप्रोमा
घटनैघटनाको चित्कारमा
छट्पटाइरहेको छ मेरो देश
कठै! मेरो देश
बोलोस् पनि कसरी
पैसोको बिटोले भुडी भर्न खोज्दा
अधर्मले जरो गाड्दा
आज भ्रष्टाचारको खेतीले
देश चुर्लुम्म डुबेछ।
झुटलाई लुकाउन
एकपछि अर्काे एवम प्रकारले
हजारौं झुट थपिए
न त आवाजवीहिनको
आवाज बन्यो ,
न त सेवक नै बन्न सक्यो
कठै! मेरो देश
यो भन्दा धेरै न त देशले पायो
न त हामीले पायौँ।
पायौँ त केबल
हाम्रा थाप्लामा
झन्डै बयासी हजारको उपहार !









Discussion about this post