बन्यो देश आज रङ्गमञ्च
चर्को भाषण र तालीमा छ खुलामञ्च!
खोइ कहाँ छ गणतन्त्र?
घरघरमा ,जलजजलमा अनि थलथलमा
देखिन्छ जतासुकै घुसतन्त्र अनि लुटतन्त्र!
उठौँ र जागौँको चर्को नारामा
लमतन्न,लमलस्कर ताँतीमा
उखेल्ने र फ्याल्ने नव जागरणमा
पोषण तत्व भर्ने संकल्पमा
आफ्नै पोषक बनी पेट भर्ने दाउमा
कर्म ,धर्म र मर्म सब बिकाउमा
चुर्लुम्म डुबाउँदै लोभको पसारोमा
आकाशको फल झार्ने आसमा
शासक अनि शासन आफैं
अभियान अनि अभियन्ता दुबै
बडो तामझाममा
सत्ताको मातले खेल्दै सिँगौरी
देखाउँदै बलको बहादुरी
कहिले रङ्गमञ्चको नाटक जस्तो
एकादेशको कहानी जस्तो !
पर्दामा देखिएका थरिथरिका पात्रहरु जस्तै
रङबदल फूलहरू र छेपाराहरु जस्तै
एउटा जाग्यो ,अर्को निदायो
देखाएका सपनाहरु
हावाहुरी झै सबै उडायो ।
इतिहासले देखेका सपनाहरूमा
आज नमिठा स्वादहरुमा
प्रत्येक गाँसगाँसमा
चालेका हरेक पाइलाहरूमा
आज अपाच्य बनेको छ गणतन्त्र!
राजनीतिको त्यो भोक
न सेवक बन्यो कसैको सेवामा
लोकतन्त्रको त्यो चोक
न आवाज बोल्यो कसैको आवाजमा !
पुर्खाले खुकुरी चलाए
देशको अस्तित्व जोगाउन
सिकारीहरुले बन्दुक चलाए
आज देशको गरिमा मेटाउन!
वीरपुर्खाको त्यागले खडा साम्राज्यमा
गणतन्त्र चढ्दैछ बन्दुकको यात्रामा
देश सिद्याउने, युवा रित्याउने सडयन्त्रको पथमा !
राजनीतिको नाममा बजेका ती ढ्याङ्ग्राहरुमा
एकदिन अवश्य प्वाल पर्छ !
एकदिन अवश्य ढल्छ , खरानी बन्छ !
रञ्जना लम्साल थापा









Discussion about this post