दौरा सुरुवाल , भादगाउँले टोपी
अनि टलक्क टल्किने काला जुत्तामा
चिल्ला कार , चिल्ला सडकमा
सररर गुड्न पाउँदा
जनता त भुले भुले ….
आज पुर्खाको वलिदान,
अनि शहिदको सपना ,
आफ्नै पैतालामुनिको माटाको रङ ,
आमाको काख,जङ्गे पिलर ,
अनि आफ्नै भूमिको नक्सा
सबै भुसुक्कै बिर्षिएछन्।
विलासी जीवन त्यो एसोआराम …
हिजो अनि आजको म,
नक्कली मुकुट लगाएर
झुठ र भ्रमको खेती गर्दै
जनताको अगि लम्पसार पर्दै
भिक मागेर , दुई हात फिजाएर
सिधा ती मस्तिष्कहरु
कन्चन मन , पवित्र बिचारलाई
छलकपटमा लट्पटाएर
गालाभरि अबिर दलेर
उत्सव मनाउन पाएका छन्।
‘काम गर्ने कालु ,मकै खाने भालु’
तिनै कालुहरुको पसिनामाथि खेलेर
आज लाखौं कालुहरुको रगत चुसेर
बाँचिरहेका छन्।
देशको काँचुली फेर्छु भन्दै
दिवा सपना बाँड्दै हिँडेका
हाम्रा तम्रा नेता
आज आफ्नै काँचुली फेर्नमा ब्यस्त छन्।
हिजो जनतालाई चिन्ने नेता
आज जनतै नचिन्ने भएछन्
पिलन्धरे हाम्रा नेता
आज सर्टको बटन नै नलाग्ने गरी
मोटाएका छन्।
हाम्रा नेता मात्रै होइनन् मोटाएका
आज खाने तेलदेखि गुड्ने तेलसम्म
लगाउने तेलदेखि तिलसम्म
सबै मोटाएका छन्।
खोजिए कहाँ कहाँ?
हाम्रा तम्रा नेता
जहाँ भोकमरी अनि अभाव छ,
दुखेका घाउहरुमा
बाझा खेतका गर्हाहरुमा
अन्याय र अत्याचारले
पिल्सिएका ठाउँहरूमा
चारै दिशाबाट भूमि मिँचिदा
नारी अस्मिता लुटिदा
अहँ भेटिएनन् कतै !
पुर्खाको अस्तित्व
शहिदको सपना
वीरताको चिनो
आज धरासायीमा पार्दै
पाँच तारे होटलमा
रक्सीको चुस्की लगाउँदै
नसाको मातमा
गलल्ल हाँस्दै
बार्गेनिङ, सम्झौता र सहमतिमा
व्यस्त छन्।
हाम्रा तम्रा नेता
……….









Discussion about this post