घरको भान्छामा होस् या ठूला तारे होटलमा, बास्नादार मसलाको रूपमा दालचिनीको प्रयोग गरिन्छ। तर दालचिनी मसलामात्र नभएर औषधीय गुणयुक्त खानेकुरा पनि हो।
यो चिनी रोग अर्थात मधुमेहका बिरामीको लागि प्रभावकारी छ। मधुमेहका बिरामीले यसको धुलो नियमित सेवन गर्दा उपयोगी हुन्छ।
दालचिनीको बोक्रा पाइने तत्व पोलिफिनल (Polyphenol) ले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाएर इन्सुलिनको मात्रा बढाउन मद्दत गर्छ भने रगतमा रहेको ग्लुकोज एक ठाउँबाट अर्को ठाउँमा लैजान र ग्लुकोज टुक्र्याउन पनि सहयोग गर्छ। यसले गर्दा रगतमा चिनीको मात्रा घट्न जान्छ। यसबाहेक रक्तनलीमा जम्ने बोसो घटाउनमा पनि यो प्रभावकारी मानिएको छ।
पूर्वीय चिकित्सा पद्धति आयुर्वेदका ग्रन्थहरूमा मुखको घाउ‚ खटिरा‚ अजीर्ण, बालबालिकाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्याहरूमा दालचिनी विशेष प्रभावकारी भएको उल्लेख गरेको पाइन्छ।
गाउँघरमा वाकवाकी लाग्दा, उल्टी हुँदा दालचिनी खान दिने गरेको पाइन्छ र त्यस्तो अवस्थामा यो प्रभावकारी देखिएको पनि छ। विभिन्न आयुर्वेदिक औषधिमा दालचिनी प्रयोग हुँदै आएको छ।
यी समस्याबाहेक चिनी रोग एवं धेरै मोटा मानिसले वजन घटाउन शुद्ध दालचिनीको धुलो १ ग्रामदेखि ३ ग्रामसम्म प्रयोग गर्न सकिन्छ।
तर चिनी र बोसो घटाउन प्रभावकारी छ भनेर दालचिनीको धुलो हालेको मासुका परिकार, क्रिम केक, मिठाइ र जुसलगायतमा उपभोग गर्दा भने स्वास्थ्यमा प्रतिकूल असर पार्छ।
दालचिनी स्वास्थ्यका लागि उपयोगी छ भनेर जथाभावी अत्यधिक मात्रामा सेवन गरेमा रगतमा चिनी र बोसोको मात्रा अझ बढ्न सक्छ। साथै कुनै औषधि सेवन गरिरहेका र इन्सुलिन लिइरहेका व्यक्तिले भने औषधि खान र इन्सुलिन लिन छाड्नु हुँदैन। थाहा खबर बाट सभार









Discussion about this post